बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पशुपतिको धर्मशालामा सेवाका नाममा व्यापार

शुक्रबार, पुष २२ २०७९

काठमाडौँ – अमालकोट  कचहरी र सेवा समितिबीच २०६० जेठ १२ गते विशुद्ध सेवाका लागि धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भए पनि सम्झौताको १९ वर्षपछि पशुपति गौशाला धर्मशाला अघोषित व्यापारिक केन्द्र भएको छ । पशुपतिनाथ मन्दिर आउने दर्शनार्थीका लागि सञ्चालित धर्मशालामा  लज  चलाइएको  छ । 

सहुलियतमै लज चलाए पनि सेवा समितिले १९ वटा सटरबाट कार्यविधिबिनै चर्को भाडा असुली गरिरहेको छ । पशुपति गौशाला धर्मशालामा पसल सञ्चालन गर्ने स्याङ्जाका  श्रीधर  न्यौपानेले  ३०  हजार रुपियाँभन्दा बढी मासिक भाडा तिर्छन् । उनले भने, “दुई वर्षमा सम्झौता नवीकरण गर्नुपर्छ । मैले १४ वर्षदेखि पसल चलाइरहेको छु । भाडा चर्को  छ  ।”

धर्मशालामै  ट्राभल्सका  सञ्चालक  अच्युत चापागाईंले पनि कार्यालय चलाएको १० वर्ष भयो । उनले मासिक ३५ हजार रुपियाँ भाडा तिरेका छन ।  सेवा  समितिका  अध्यक्ष कैलाशचन्द्र  गोयलले १९ मध्ये १८ वटा सटर भाडामा लगाइएको बताए ।  उनले धर्मशालाबाट  उठ्ने  भाडा  पारदर्शी रहेको दाबी गरे । उनले भने, “हामीले यत्रो सेवा गरिरहेका छौँ । तपाईं भाडाको कुरा  गर्नुहुन्छ  !  प्रक्रिया  मिलाएको  छ,  अफिस आउनुस्, देखाउँला ।” गोरखापत्र दैनिकबाट