काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको बारेमा धेरै राजनीति नगर्न चेतावनी दिएका छन्। बुधबार गैरआवासीय नेपाली संघको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नागरिकता सम्बन्धी विषयमा बहस गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई चुनौती दिएका हुन् ।
ओलीले गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपाली संघ (एनआरएनए) को मञ्च दुरुपयोग गरेको समेत बताए । प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्र विरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भए पनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताए । गैरआवासीय नेपाली सङ्घमा गएर गृहमन्त्रीले राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताए । उनले नागरिकताको बारेमा धेरै राजनीति नगर्न समेत चेतावनी दिए । नागरिकतासम्बन्धी विषयमा बहस गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई उनले चुनौती दिए ।
उनले भने, ‘हिजो गृहमन्त्रीजीले यस मञ्चको दुरुपयोग गरेर सम्माननीय राष्ट्रपति ज्यूको सम्बन्धमा जो अनर्गल भन्नु भयो, त्यो बहुतै गम्भीर विषय हो । यसै त राष्ट्रपतिको हतपत आलोचना गरिँदैन । किन भने राष्ट्रपति हतपत बोलिरहँदैन । राष्ट्रपतिले प्रतिवाद गर्दैन । प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गरिँदैन । प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा म सत्ताधारी गठबन्धन, परमादेशीलाई आग्रह गर्न चाहन्छु– हामीसँग डिबेटमा आउनुस् न । हामी छौँ नि डिबेट गर्ने, हामीसँग डिबेट गर्न आए हुन्छ । त्यो लज्जाजनक कुरा हो, असभ्यताको कुरा हो । वास्तवमा भन्ने हो भने त्यस टिप्पणीभन्दा पछि अलिकति लोकतान्त्रिक संस्कृति हुन्थ्यो भने प्रधानमन्त्रीले उहाँको राजीनामा मागि सक्नु पर्दथ्यो ।’
अध्यक्ष ओलीले भोट बढाउनका लागि देशलाई दूरगामी अहित हुने काम गर्न नमिल्ने दाबी गरे । उनले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने प्रतिबद्धता जनाए ।