गुल्मी । नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले उम्मेदवारी मनोनयन गरेको क्षेत्र गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट बागी परेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवारका रुपमा पूर्वमन्त्री समेत रहेकी झाँक्रीलाई अघि सारिएको थियो । तर, कांग्रेस नेता डाक्टर दामोदर भुसालले यहीबाट उम्मेदवारी दिएका छन् ।
झाँक्रीलाई समर्थन गर्न नसकिने निर्णयसहित सो क्षेत्रमा कांग्रेस नेताले उम्मेदवारी दिएका हुन् ।
भुसालले कांग्रेसको टिकट दाबी गरिरहेका थिए तर गठबन्धनले उक्त क्षेत्र समाजवादीको नाममा छुट्याएपछि त्यहाँ बागी परेको हो ।
उम्मेदवारी दर्तापछि भुसालले नेपाली कांग्रेसको बलियो संगठन भएको ठाउँमा गठबन्धनका नाममा पार्टी संरचना भत्कने खतरालाई जोगाउन आफूले उम्मेदवारी दिएको बताएका थिए।
भुसाल कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
गुल्मी २ बाट एमालेबाट सचिव गोकर्ण विष्ट प्रतिस्पर्धा गर्दै छन्। अघिल्लो चुनावमा विष्ट यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, यसपटक एमालेका विष्ट र एकीकृत समाजवादीकी नेतृ झाँक्रीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।