मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

कांग्रेसमा थपियो चुनौति : जताततै बागी नै बागी

मंगलबार, असोज २५ २०७९

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसमा सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ । 

गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ १ मा दुई जनाले बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र विश्व बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निवर्तमान सांसद अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले सर्लाही ४ मा नागेन्द्र रायलाई टिकट दिएपछि सिंह बागी उम्मेदवार दिएका हुन् ।
प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश देउवाविरुद्ध कैलाली ५ (ख) मा पनि बागी परेको छ । यहाँ कांग्रेस महासमिति सदस्य क्षितिज भण्डारी विद्रोही उम्मेदवार बनेका छन् ।

यसैगरी धादिङ–२ मा केन्द्रीय सदस्य रमेश धमलाले बागी उम्मेदवारी दिएका छन् । पार्टीले रामनाथ अधिकारीलाई टिकट दिएपछि धमलाले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै कांग्रेस नेता देवी बुर्लाकोटीले प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएका छन्। कांग्रेस नेता हरिमोहन भण्डारीले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले प्रदेश सभा (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको छ ।

माओवादीबाट डा. भोजराज अधिकारीले उम्मेवारी दर्ता गराउँदै छन् ।  यो निर्वाचन क्षेत्रमा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो । उनी गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई उठाएको हो । तर, कांग्रेस चितवनले भने माओवादीलाई नछाड्ने भन्दै कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

कोइराला यसअघि पनि भरतपुर महानगरपालिकामा मेयरमा उठ्ने तयारीमा थिए । कांग्रेसले अन्तिममा उनको टिकट खोसेर प्रचण्डकी छोरी रेनु दाहाललाई समर्थन गरेको थियो । चितवन ३ मा कांग्रेसका बागी जगन्नाथ पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी नेपाली कांग्रेसका दुई नेताले कैलाली-५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

कैलाली-५ का संविधानसभा सदस्यसमेत रहेको पुष्करनाथ ओझाले प्रतिनिधिसभा र कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले क्षेत्र नम्बर-५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

दुई नेताले कैलाली ५ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । पुष्करनाथ ओझालाई कांग्रेसले कारबाही गरेको छ ।

यसैगरी कांग्रेस भित्र भन्दा पनि गठबन्धनविरुद्ध कांग्रेसमा बागी उम्मेदवारी परेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मनोनयन दर्ता गराएको  गोरखा–२ बाट समेत कांग्रेसकी माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

यसरी शीर्ष नेताले गरेको गठबन्धन र तालमेल विरुद्ध कांग्रेसमा जताततै विद्रोह भएको छ भने उम्मेदवार र तालमेलको विषयमा पार्टी कार्यकर्ता असन्तुष्ट रहँदै आएका छन् । नेतामा देखिएको असन्तुष्टिलाई मिलाउन सभापति शेरबहादुर देउवालाई निक्कै चुनौति छ ।