काठमाडौँ – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराउने भएको छ। दशैंको बिदाका कारण सोमबारदेखि मात्र अदालत खुल्ने भएकाले उनको म्याद थप समेत हुन सकेको छैन।
लामिछानेलाई बिहीबार प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। उनले आफु आउँदै गरेको पूर्व रुपमा जानकारी गराएका थिए। उनी गौशाला वृत्तको थुनामा छन्।
क्योरेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज गएका बेला उनीविरुद्ध गौशाला वृत्तमा उजुरी परेको थियो। ५ भदौमा पिंगलास्थानको एक होटलमा आफुमाथि बलात्कार भएको एक किशोरीको उजुरी छ।
उजुरी परेपछि क्रिकेट नखेली केही समय अमेरिका बसेर उनी नेपाल फर्किएका हुन्। म्याद थप भएपछि उनको बयान प्रक्रिया सुरु हुने प्रहरीले जनाएको छ। प्रहरीले उनीविरुद्धका प्रमाणहरु भने संकलन गरिसकेको छ। पक्राउ परेको २५ दिनभित्र अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलमार्फत अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ।