काठमाडौं । सुमार्गी परिवारले २०८० बैशाख १ गतेबाट मकवानपूरमा ठूलो यज्ञ लगाउँदैछ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सस्दय तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीका अनुसार राप्ती नदीको तटस्थित गोरक्षश्वर धाममा यज्ञ लगाइने भएको हो। यो धामको संरक्षक अजयराज सुमार्गी हुन् ।
हरेक पाँच पाँच वर्षमा सबै समुदायका व्यक्तिहरुसँग जमघटका लागि यज्ञ र भण्डारा लगाउँदै आएको सुमार्गी परिवारले यस पटक ठूलो यज्ञ लगाउँदै छ ।
उनका अनुसार यज्ञको सुरुमा विशाल र्याली निकालिने छ भने उक्त र्यालीमा हिन्दु, बौद्ध, मुस्लिम लगायत सबै धर्म मान्ने महिला दिदीबहिनीहरु सहभागी हुनेछन् । साथै महिला दिदीबहिनीहरुलाई साडी बाँडिने पनि उनले बताए ।
‘हामीले यसरी हजारौँ दाजुभाइ दिदीबहिनीसँग एकैपटक साक्षात्कार गर्छौँ, त्यहाँ थालमा होइन टपरीमा खाना खुवाइन्छ’ अरुणले भने, ‘यसअघि हामीले प्रचण्ड, कृष्ण सिटौला र उपेन्द्र महतोसम्मलाई टपरीमा खाना खुवाइसक्यौँ ।’
सुमार्गीले यसपाली दशैँको अवधिमा स–परिवार मिलेर यसैको तयारीमा लाग्ने बताए। उनको दशैँ हेटौँडामा हुने पनि उनले सुनाए ।
सुमार्गी यस पटक जिल्ला नगर उपाध्यक्षमा चुनाव लड्ने गरी आन्तरिक गृहकार्य गरिरहेका छन् । संस्थापन पक्षबाटै महासंघमा प्रवेश भएका सुमार्गी अहिले पनि आफूलाई संस्थापन समूहकै उम्मेदवार हुने दाबी गर्छन् ।
गत निर्वाचनमा शेखर गोल्छाले समर्थन गरेको समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी यसपाली पनि संस्थापन पक्षबाटै जिल्ला नगर उपाध्यक्षमा चुनाव लड्ने तयारी गरिरहेका छन् ।