काठमाडौं । नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला कमिटीका अध्यक्ष हिरण्य भट्टराईसहित जिल्ला कमिटी र पालिका कमिटीका अधिकांश नेताकार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा आज महासचिव शंकर पोखरेल, सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापाले उनीहरूलाई स्वागत गरे ।
सो अवसरमा महासचिव पोखरेलले नेपालमा धेरै दल हुँदा अस्थिरता हुने गरेको, विदेशी हस्तक्षेप हुने गरेको हुँदा त्यसको अन्त्यका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताए ।
महासचिव पोखरेलले राजनीतिक ध्रूबीकरण एजेण्डाका आधारमा हुनुपर्नेमा जोड दिनुभयो । अहिले ध्रूबीकरणकै क्रमका रूपमा देशभर दिनहुँजसो एमालेमा प्रवेशको लहर चलिरहेको बताए ।
एमाले प्रवेश गरेका नेकपा एसका अछाम जिल्ला अध्यक्ष भट्टराईले नेकपा एसमा लागेर गम्भीर भूल भएको स्वीकार गर्दै उक्त पार्टी कम्युनिष्ट हुनै नसक्ने तथ्यहरू देखेर आफू र सहयोद्धा नेताकार्यकर्ता एमालेमा समाहित भएको स्पष्ट पारे ।
‘अव समाजवादी केका लागि भन्ने प्रश्नको जवाफ पाउन सकिन्न, त्यहाँ रहेका सवै नेता–कार्यकर्ता एमालेमा फर्कनुपर्छ, एस सुध्रनेवाला छैन ।’