बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

अलबिदा ! अविश्रान्त समाजवादी कमरेड प्रदीप गिरि….

आइतबार, भाद्र ५ २०७९

काठमाडौं । पक्ष विपक्षमाझ उतिकै लोकप्रिय बौद्धिक नेता प्रदीप गिरिको शनिबार साँझ ९ः३० बजे ७५ बर्षको उमेरमा उपचारको क्रममा निधन भएको छ ।

लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी अस्पताल भर्ना भएका थिए । घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो ।

राजादेखि कांग्रेस, कम्युनिष्ट र विश्व राजनीतिक पात्र अनि तिनको प्रवृत्तिसँग वर्तमान राजनीतिलाई तुलनात्मक अध्ययन गर्न सक्ने बौद्धिक खुबी भएका सादगी नेता गिरिको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

समाजवादी चिन्तक गिरिको विसं २००४ मा सिरहाको वस्तीपुरमा पिता मित्रलाल गिरि र आमा पुण्यप्रभा गिरिका सुपुत्रका रूपमा जन्म भएको थियो ।

भारत, जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्ने नेतामा पर्थे । सादा जीवन र उच्च विचारका धनी गिरि महात्मा गान्धीका अनुवायी थिए ।

नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी विसं २०२१ पछि राजनीतिमा सक्रिय भएका हुन् । हाल प्रतिनिधिसभा सदस्य रहेका उनी विसं २०२४ मा वनारसमा नेपाल छात्र संघमा निर्वाचित भएका थिए ।

उनी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए । यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए । नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित भए ।

राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी कुल चार वर्ष उनले जेल जीवन विताएका थिए । महात्मा गान्धीका अनुवायी गिरि नेपालमा मार्क्सवादको राम्रो ब्याख्या गर्नसक्ने व्यक्तिमा चिनिन्थे ।। उनी कांग्रेसमा सक्रियता र सहभागिता भए पनि कम्युनिष्टहरुमा पनि उत्तिकै लोकप्रिय थिए । ज्ञानका धनी गिरि पुराना कांग्रेस नेता भएपनि उनी पार्टी जीवनमा किनाराकृत नै रहे । सादा जीवनशैली भएका गिरि आफ्नो निष्ठा र इमान्दारितामा कहिल्यै फरक सुनिएनन् । उनीसँग इतिहास, धर्म, दर्शन, कला, संस्कृति र साहित्यको पकड बेजोड थियो । 

उनको भौतिक शरीर हामी माझ नरहे पनि उनको सादगी जीवन शैली, बौद्धिक व्यक्तित्व र प्रखर वाक कला नेपाली राजनीतिले सदैव सम्झिने छ । आफ्नो पार्टी सरकारमा रहेको बेला पनि पार्टी भित्रका कमीकमजोरीलाई उनले सटिक रुपमा उठाउने नेतामा पर्थे ।

उनी चिन्तनका धरोहर नै थिए । उनी एक व्यक्ति भन्दा पनि एक विश्वविद्यालय नै थिए । कांग्रेस राजनीतिमा उनी भएपनि धेरैले उनलाई कम्युनिष्ट अझ माक्र्सवादी विचारकका रुपमा चिन्ने गर्थे ।

एमाले नेता घनश्याम भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो समयको अविश्रान्त समाजवादी कमरेड प्रदीप गिरि, हाम्रो यात्राभरी तपाईंलाई सम्झिरहने छौँ । ‘
गिरीको निधनले नेपाली समाजमा अपुरणीय क्षति भएको छ । उनीबाट समाज र राजनीतिले लिनसक्ने कुरा धेरै थियो । उनको आत्मालाई शान्ति मिलोस् ।

हार्दिक श्रद्धाञ्जली !