झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताएका छन् ।
झापाको बिर्तामोडमा शनिबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताए ।
सत्ता गठबन्धनकै सरकारका कारण बेथिति उत्कर्षमा पुगेको उनको भनाइ थियो । परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ‘त्यो सरकारले मान्छे कुट्दै हिँड्ने’ उनले दाबी गरे ।
अध्यक्ष ओलीले मनपरीतन्त्रबाट देशलाई जोगाउनका लागि एमालेले जित्नैपर्ने धारणा राखे । मंसिर ४ गते नयाँ नेपालको इञ्जिनियरिङ गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले अध्यक्ष ओलीले सो चुनाव एमालेका लागि नभएर देशका लागि एमालेले जित्नैपर्ने बताए ।
उनले भने, ‘देशका निम्ति, देशको स्वाधिनताको निम्ति, सार्वभौमसत्ताको निम्ति, स्वतन्त्रताका निम्ति, भौगोलिक अखण्डताका निम्ति, स्वाभिमानका निम्ति, राष्ट्रिय हितका निम्ति, लोकतन्त्रका निम्ति, लोकतन्त्रलाई जीवनपद्धतिको रुपमा अपनाउनका निम्ति, समाजमा शान्ति–सुव्यवस्था कायम गर्नका निम्ति, स्थिरता स्थायित्व कायम गर्नका निम्ति, सुशासन र विकासको बाटोमा देशलाई अगाडि बढाउनका निम्ति र वास्तवमा समृद्ध नेपाल नेपाल सुखी बनाउनका निम्ति हामीले चुनाव जित्नैपर्छ ।’
एमसीसीका नाममा अनेक तमासा देखाउने काम गठबन्धनभित्रका दलले देखाएको अध्यक्ष ओलीले बताए । एमाले सरकारमा आएपछि कैयौं कामहरु भएका उनले। एमालेले जति विकासका काम गर्यो विरोधीहरु त्यति आत्तिँदै गएका अध्यक्ष ओलीले भने ।
विकास निर्माणमा इन्जिनियरहरूको योगदान अपरिहार्य रहेको र नेपालको विकासमा अझ गति दिन धेरै काम गर्नुपर्ने भएकाले त्यसका लागि जतिसक्दो योगदान दिन इन्जिनियरलाई ओलीले आग्रह गरे ।