काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले नातावाद कृपावादबाट देशलाई मुत्ति दिन जरुरी रहेको बताएका छन् ।
बुधबार एमाले बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘श्रीमती अघि सार्ने, सालो अघि सार्ने र पार्टीका नाममा केही व्यक्तिले लुट मच्चाउने काम गरिरहेका छन् । यो अवस्थाबाट मुक्ति दिन जरुरी छ,’ । ओलीले भने ।
एमालेको सरकारले मात्रै देशको राष्ट्रियतालाई जगेर्ना गर्दै जनतालाई सुशासन दिन सक्ने उनले दाबी गरे ।
यसैगरी अध्यक्ष ओलीले फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको समेत बताए ।
ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच समाजवादी केन्द्र निर्माणका विषयमा भइरहेको छलफलप्रति संकेत गर्दै ओलीले फुटका लागि एकता अभियान सुरु भएको बताएका हुन् ।
‘आज तपाईहरूले अखबारमा हेर्नुभएको छ नि एकता अभियान । यो फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको छ । यो त्यति सफल हुँदैन,’ ओलीले भने ।
मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको थियो । मंगलबार नै प्रचण्ड र बाबुराम भट्टराईबीच पनि समाजवादी केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको थियो । पार्टी एकता नभई समाजवादी केन्द्र बनाउन आफूहरू लागिपरेको उनीहरूको भनाइ थियो ।
ओलीले कसैको नाम नलिई सैद्धान्तिक पूर्वाग्रह राख्ने मानिस के बोल्छन्, के गर्छन् भन्ने ठूलो विषय नभएको बताए । उनले आमाबाबु, छोराछोरी, श्रीमान् श्रीमती मार्नेहरु पनि देखिएका छन् भन्दै यस्तो राजनीतिले कतै नपुग्ने बताए ।