शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

छानबिन समितिले पूर्व अर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्ने

बुधबार, साउन ४ २०७९

काठमाडौं । आज संसदीय छानबिन समितिको बैठक बस्दैछ ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर सोधपुछ गर्ने कार्यक्रम छ ।

समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सिसिटिभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले समितिको बैठकमा विज्ञहरुले डिलिट भएको सिसिटिभी फुटेज रिकभर हुने भएपनि रिकभर गर्ने अथोरिटी सफट्वेयर आवश्यक हुने भएकाले सिसिटिभीको हार्ड डिक्सको अवस्थामा भरपर्ने भन्दै फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउन उपयुक्त हुने सुझाव दिएको बताए ।

बुधवार बस्ने बैठकमा बजेट निर्माण प्रक्रियामा विगतको अर्थ मन्त्रालयको अभ्यासका विषयमा अनुभवी पूर्व अर्थसचिव र राजश्व सचिवहरुसँग छलफल गर्ने तयारी गरेको छ । त्यस्तै समितिले निःवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बाहिरी मान्छे प्रवेश गराएको समाचार बाहिर ल्याउने अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिकका सम्पादकसँग पनि छलफल गर्ने तयारी रहेको छ ।

समिति सचिव अर्यालले अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने समयको फुटेज डिलिट भएको भन्दै अर्थ मन्त्रालयको समग्र सिसिटिभी सिस्टम नै समितिलाई दिएको बताए ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका छन् ।