काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको आज जवाफी बहस हुँदैछ ।
रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो । जवाफी बहस सकिएपछि सर्वोच्चले आजै फैसला सुनाउन सक्नेछ । यदि आज फैसला नसुनाए अर्को दिनलाई निसु तोक्न सक्ने छ।
यसअघि आइतबारका लागि तोकिएको इजलास सार्वजनिक विदाका कारण सोमबारका लागि सरेको थियो । प्रतिवादीका वकिल पक्ष गत सोमबार बहसका लागि तयार नभएपछि आईजीपी नियुक्तिविरुद्ध दर्ता गरेको रिट निवेदनमाथिको बहस आजका लागि सारिएको थियो ।
आजको इजलासमा सरकारका तर्फबाट जवाफी बहसले निरन्तरता पाउनेछ।
मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ जारी छ । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ चलिरहेको छ।
आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले पोखरेललाई छोडेर धीरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो।
पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाउ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरू भएको थियो । त्यसपछि असार ५, असार १३ र असार १९ गते बहस भएको थियो।