शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रकाशमान सिंहले प्रत्यक्ष निर्वाचन नलड्ने ?

शुक्रबार, असार ३१ २०७९

काठमाडौँ – २०४८ सालकाे निर्वाचनमा सन्त नेता कृष्ण प्रसाद भट्टराई र जन नेता मदन भण्डारी निर्वाचनमा भिडेकाे बहुचर्चित  काठमाडौं निर्वाचन क्षेत्र नं १  ।  सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई जन नेता मदन भण्डारीले सात सय मतले पराजीत गरेका थिए ।  यस्ताे चर्चित   काठमाडौं निर्वाचन क्षेत्र नं १,   नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ छाडेर समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने चाहाना आफू निकटहरूसँग व्यक्त गर्न थालेकाे खबर छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा आफ्नी धर्मपत्नी सिर्जना सिंहलाई उम्मेदवार बनाएर नराम्रोसँग पराजित भएपछि नेता सिंहले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधि सभामा उम्मेदवार बन्दा जनताले हराउन सक्ने आंकलन र विश्लेषण गर्दै समानुपातिक निर्वाचनमा उम्मेदवार बन्ने सोच बनाउन थालेको कांग्रेस स्रोत बताउछ ।  

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उठ्दा ३७१ मत ल्याएर सर्मनाक पराजय व्यहोरेका सिंहले स्थानीय तहको निर्वाचनमा आफ्ना वरपरका हनुमान र आसेपासेको कुरा सुनेर राजनीति छाडेर शुद्व गृहणी बनेकी सिर्जना सिंहलाई काठमाडौं महानगरको मेयरमा उठाएका थिए ।

यसमा खासगरि काठमाडौं कांग्रेसका सभापति सबुज कृष्ण बानियाँ, बागमती प्रदेशका उपसभापति तथा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, बागमती प्रदेश सभाका कांग्रेसका सचेतक छिरिङ दोर्जे लामा, पूर्व संविधान सभा सदस्य राज्यलक्ष्मी श्रेष्ठ, नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष विष्णुदेवी पुडासैनी जस्ता चौबिसै घण्टा चाक्सीबारीमा ढुकेर बस्ने नेताहरूको निर्णायक भूमिका रहेको स्रोत बताउछ । उनीहरूकै सल्लाह मानेर प्रकाशमानले श्रीमती सिर्जनालाई अहिले काठमाडौं महानगरको मेयर र पछि राष्ट्रपति बनाउने सोचका साथ सिर्जनालाई काठमाडौंको मेयरमा उठाएका थिए ।

चाक्सीवारीको यस्तो निर्णयबाट चरम असन्तुष्ट भएका मेयरका आकांक्षीहरू काठमाडौं क्षेत्र नं ६ का सांसद भीमसेन दास प्रधान, हरिप्रभा खड्गी, महानगरका सभापति निलकाजी शाक्य, तरूण दलका नेता प्रगतिमान रञ्जितले मेयरमा सिंहलाई अन्तरघात गरि हराइ दिएको चर्चा पनि चलेको थियो ।

काठमाडौं  महानगरका १९ वटा वडा अध्यक्ष कांग्रेसले जित्दा कांग्रेसकै मेयर उम्मेदवार सिंहले २० हजार मतको अन्तरले स्वतन्त्र उम्मेद्वार बालेन्द्र साहसँग हार्नु ठूलो अन्तरघात भएको चाक्सीवारीले बुझेको छ, तर अन्तरघात गर्नेहरूलाई कारवाही गर्ने बारेमा मुख खोल्न सकेको छैन ।

अहिले सिंह निवास चाक्सीवारी पुग्ने सबै नेता र कार्यकर्ता प्रकाशमान सिंहका समर्थक र हितैषी हैनन रहेछन भन्ने कुरा कांग्रेस सभापतिमा उठेका प्रकाशमान र काठमाडौंको मेयरमा पराजित भएपछि सिर्जना सिंहले महसुस गरेका छन् । काठमाडौंको मात्रै नेता बन्दै आएका सिंहले सभापतिमा उठेर दोस्रो राउण्डमा शेरवहादुर देउवालाई साथ दिएर आफ्नो वेट घटाएको सिंहका समर्थकहरू बताउछन् ।

त्यसबेला शेरबहादुर देउवा वा डा. शेखर कोइराला जुनसुकै टिमबाट उपसभापति उठेको भए जित्ने रहेछु र १५ औं महाधिवेशनमा सभापतिको स्वभाविक उम्मेद्वार बनेर सजिलै जित्ने रहेछु भन्ने महसुस अहिले प्रकाशमानलाई भएको उनी निकट स्रोत बताउछ ।

२०७४ मंसिरमा सम्पन्न बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका थिए । उनले निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रविन्द्र मिश्रलाई पराजित गरेका थिए  । साे निर्वाचनमा मिश्र ८ सय १८ मत अन्तरले पराजित भएका थिए ।

सिंहले १० हजार ९ सय ३६ मत पाएका थिए भने मिश्रले १० हजार १ सय १८ मत प्राप्त गरेका थिए । वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत मात्रै प्राप्त गरेका थिए  । अब २०७९ मा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि कस्काे भाग्य खुल्ला ?

याे पटक पनि काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाकाे  निर्वाचन राेचक बन्ने भएकाे छ । गत निर्वाचनमा  ८ सय १८ मतकाे अन्तरले पराजित भएका र हाल राजनीतिबाट अलग जस्तै भएका  रविन्द्र मिश्रले याे पटक पनि काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचन लड्लान् ? साँघु साप्ताहिकबाट