शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

गलत विधिबाट ल्याएको बजेट स्वीकार्न सकिन्न : पूर्व अर्थमन्त्री पौडेल

मंगलबार, असार २८ २०७९

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताएका छन् ।

सोमवार अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताए ।

उनले गठबन्धन सरकारले ल्याएको बजेट विवादमा परेकाले अहिले मुलुक बजेट बिहीन रहेको दाबी गरे ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले गठबन्धन सरकारका अर्थमन्त्रीले बजेट गलत विधिबाट ल्याएको आरोप लगाए । उनले संविधानले गरेको व्यवस्था, कानून ,बजेट निर्माणका मूल्य मान्यताहरुलाई अस्वीकार गरेर निर्माण गरी ल्याएको बजेट जनताले स्वीकार नगर्ने भन्दै बजेटको कुनै अर्थ नभएको बताए पौडेलले बजेट आफैँ विवाद रहेकाले बजेट बजेटको रुपमा नभएको भन्दै बजेट कार्यान्वयन गर्न नसकिने जिकिर गरे । उनले अर्थमन्त्रीलाई छानबिन गर्न संसदीय समिति बनेकाले छानबिन समितिको प्रतिवेदन नआएसम्म बजेटको रुपमा मान्न नसकिने बताए ।

पौडेलले प्रधानमन्त्री शेरबहादर देउवा नेतृत्वको सरकारको बहिर्गमन नै अर्थतन्त्रको निकास भएको दाबी गरे । 
उनले अब फेरि जनताको जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने दाबी गरे । उनले नेकपा एमाले निर्वाचनका माध्यमबाट यो सरकारलाई बिस्थापित गरेर र एमालेको नेतृत्वमा जनादेशको आधारमा नयाँ सरकार निर्माण गर्ने बताए ।

पूर्व अर्थमन्त्री पौडेलले निर्वाचनमार्फत आउने सरकारले अर्थतन्त्रका समस्या, सामाजिक जीवन, आर्थिक जीवनका समस्या र लगानीको समस्या समाधान गर्दै देशलाई फेरि पनि आर्थिक समृद्धि बनाएर सामाजिक न्याय र समानताको दिशामा देशलाई लैजाने बताए ।