काठमाडौँ : निर्वाचन आयोगले आउँदो मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावको मितिबारे परामर्श दिन गएका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितका पदाधिकारीहरुले मंसिर २ गतेका लागि चुनावको मिति तोक्न सुझाव दिएका हुन्। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २ गतेका लागि चुनावको मिति तोक्क परामर्श दिएको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको देशसञ्चारलाई जानकारी दिए।
चुनावको मिति आयोगको परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ। प्रमुख आयुक्त थपलियाले प्रधानमन्त्रीसँगको भेटबारे भने, ‘हामीले मंसिर २ गते एकै चरणमा चुनावको मिति तोक्न प्रधानमन्त्रीलाई सुझाव दिँदै। उहाँ सकारात्मक हुनुहुन्छ।’ आयोगका पदाधिकारीले चुनावको तयारीका लागि कम्तिमा १२० दिन (चार महिना) समय रहने गरी मिति तोकिदिन आग्रह गरेका थिए।
जवाफमा प्रधानमन्त्री देउवाले आफू मंसिर पहिलो हप्तामै चुनाव गराउन तयार रहेको र तयारी अघि बढाउन आयोगका पदाधिकारीसँग आग्रह गरेका थिए। भेटमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुनमन्त्री गोविन्द बन्दी पनि सहभागी थिए।
बैठकमा सहभागी एक मन्त्रीले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘मंसिर ५ गतेभित्रै हुने गरी चुनावको मिति तोकिन्छ। मंसिर २ गते एक दुई दिन यताउता हुन सक्छ। तपाईंहरु तयारी थाल्नुहोस्।’
सरकारले असार मसान्तभित्रै चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ। २०७४ सालमा मंसिर १० र २१ गते गरी दुई चरणमा चुनाव भए पनि यसपटक आयोग र सरकार एकै चरणमा चुनाव गर्न तयार भएका हुन्।