शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री देउवामाथि चर्को दबाब 

बुधबार, असार २२ २०७९

काठमाडौं । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएको अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गरी कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि यतिबेला चौतर्फी दबाब बढेको छ ।

आरोप लागेको यतिका दिनसम्म शर्मालाई पदमुक्त नगरिनुको पछाडि प्रधानमन्त्रीको संलग्नताको आशंका भएको छ ।

प्रतिपक्ष लगायत सत्तापक्ष नेपाली कांग्रेसका नेताहरूले समेत यतिबेला शर्मालाई पदमुक्त गर्न देउवामाथि दबाब बढाएका छन् ।

प्रधानमन्त्री देउवानिकट उपभापति पूर्णबहादुर खड्कादेखि उनी इतरका उपसभाति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइरालासम्मले सार्वजनिक रुपमा नै दबाब बढाएका छन् ।

सो दिनको घटनाको सीसीटीभीको रेकर्ड नै गायब ‘गरिएपछि’ अर्थमन्त्री शर्मा थप विवादमा तानिरहेको बेला कांग्रेस नेताहरूले सार्वजनिक रुपमा नै बर्खास्त गर्नुपर्नेसम्मका आवाज उठाउन थालेका हुन् ।

कांग्रेस उपसभापति खड्काले अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउनुपर्नेमा जोड गरेका छन् ।

उपसभापति धनराज गुरुङले छानबिन समिति गठन,  छानबिन समिति गठनका लागि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने वा अर्थमन्त्री शर्मालाई बर्खास्त गर्नुपर्ने तीनवटा मोडेल अघि सारेका छन् । 

‘संवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामरामार्फत निगरानी गरिन्छ,’ गुरुङले भनेका छन्, ‘सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ, जनताले हेर्न पाउनुपर्छ ।  विवाद समाधानका लागि छानबिन समिति गठन र छानबिन समितिलाई सहयोगका लागि अर्थमन्त्रीको राजीनामा वा बर्खास्त’ गर्नुपपर्छ ।’ 
महामन्त्री गगनकुमार थापाले विवादमा मुछिएका अर्थमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । ‘अर्थमन्त्री विवादमा मुछिनु भएको छ, उहाँले तत्काल राजीनामा दिनुपर्छ,’ थापाले यसअघि नै भनिसकेका छन् । नेता
शेखर कोइराला र उनका समूहले पनि राज्यविरुद्ध गम्भीर अपराध गरेको भन्दै अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्तु गर्नुपर्ने धारणा राखिसकेका छन् ।