काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ ।
आरतबारदेखि जारी बैठक पदाधिकारी चयनका विषयलाई लिएर एकाएक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको छ ।
सोमबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले पदाधिकारी चयन गर्न नेतृत्वलाई दबाब दिएका थिए ।
बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्वलाई पदाधिकारी चयन गर्न दबाब दिइएपछि अध्यक्ष प्रचण्डलाई तनाब भएको छ ।
स्रोतका अनुसार पदाधिकारी चयनका विषयमा आज प्रचण्ड निवास खुमलटारमा नेताहरू अनौपचारिक छलफलमा जुटेका छन्।
यसैबीच अर्थ मन्त्रालय र अर्थमन्त्रीको जनार्दन शर्माको विषयले पनि प्रचण्डमा थप तनाब उत्पन्न भएको र आजको छलफलले त्यस विषयमा पनि निचोड निकाल्ने बताइएको छ ।
अध्यक्ष प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै नेताहरुले पार्टीको पदाधिकारी चयन तत्काल हुनुपर्ने, सहरी क्षेत्रमा पार्टी किन कमजोर भयो भन्ने बारेमा स्पष्ट दृष्टिकोणका साथ विशेष अभियान सञ्चालन गर्नुपर्ने, पार्टी सञ्चालनका लागि स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।
सोमबारको बैठकमा नेताहरु हरिबोल गजुरेल, ओम शर्मा, लक्ष्मण पन्त, पञ्चा सिंह, मुक्ति प्रधान, देवी खड्का, परशुराम तामाङ, रामदीप आचार्य, मातृका यादव, बलावती शर्मा, मानबहादुर बुढा, गणेशमान पुन, झक्कु सुवेदी, सुदन किराती, अमृता थापा, खेलप्रसाद बुढाथोकीसहित ४३ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।
उनीहरुले पार्टीको साङ्गठनिक अवस्थाको सुधारका लागि ७५३ वटै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टी समिति परिचालित हुनुपर्ने, तालमेलभन्दा पनि आफ्नै बलबुतामा उभिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएका थिए ।
लामो समयपछि बसेको बैठकमा केन्द्रीय सदस्यले खुल्लारूपमा छलफलमा भाग लिएका थिए भने नेतृत्वको तथ्यसहितको आलोचना गरेका थिए । उनीहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा माओवादी इमान्दार भए पनि नेपाली कांग्रेसले आफूलाई मात्रै फाइदा हुने गरी गतिविधि गरेको भन्दै आगामी दिनमा विचार पुर्याउनसमेत नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा जानुपर्ने, पार्टीको क्रान्तिकारी चरित्रलाई थप स्पष्ट पार्नुपर्ने, आफूले जितेका स्थानीय तहमा उदाहरणीय काम गर्नुपर्ने र जनतालाई नयाँ आधारमा सङ्गठित गर्नुपर्ने केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन् । यस्तै विभिन्न धारामा विभक्त भएको माओवादी आन्दोलनलाई नयाँ आधारमा सङ्गठित गर्नुपर्नेसमेत उनीहरुको भनाइ छ ।