काठमाडौं । उमेरहदका कारण नेपाल प्रहरीका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु तीसवर्षे कार्यकाल पूरा नहुँदै सेवानिवृत्त हुने भएका छन् ।
प्रहरी नियमावली २०७१ को दफा १२७ (१) क (२) बमोजिम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ५६ वर्षे उमेरहदका कारण प्रहरी अतिरिक्त महानिरीक्षकहरु विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण कुमार बिसि र रबिन्द्रबहादुर धानुकले अनिवार्य अवकाश पाउने भएका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा रहेको रेकर्डअनुसार एआईजी पोखरेल यहि २०७९ साउन २० गते, आचार्य भदौ २३ गते, बिसि कार्तिक १५ र धानुक कार्तिक २५ गतेदेखि सेवानिवृत्त हुँदैछन् ।
यसैगरी एआईजी धानुक हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख, एआईजी आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज (पुलिस एकेडेमी) को प्रमुख छन् भने एआईजी बिसि नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागको प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।
साउन २० गतेदेखि अनिवार्य अवकाशमा जान लागेका एआईजी पोखरेललाई अघिल्लो सरुवामा प्रदेश प्रहरी समन्वय विभाग प्रमुखको जिम्मेवारी दिइएपनि उनी केही समयदेखि गैर–हाजिर देखिएका छन् ।
सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेपछि उक्त नियुक्तिमा असन्तुष्टि जनाउदै एकमहिने लामो बिदा बसेर सर्बोच्चमा रिट लिएर गएका एआईजी पोखरेल असार २५ गतेसम्म पनि कार्यालय हाजिर नभए उनलाई कारबाही प्रक्रिया अगाडी बढाउने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
आगामी कार्तिक २५ गतेसम्म रिक्त हुने चार एआईजी पदको लागि गत बैशाख १ मा बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम आलम खाँ स्वभाविक प्रतिस्पर्धी हुन् ।