काठमाडौं । सर्वोच्चमा नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा आज चौथो सुनुवाई हुँदैछ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा सुनुवाई हुन लागेको हो । कामु प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा आईजीपी विवादको मुद्दा चौथोपटक सुनुवाई हुँदैछ ।
यसअघि जेठ ३० र असार ५ र १३ गते तीन पटक भएकाे सुनुवाई मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
गत वैशाख १८ मा सरकारले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो ।
वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।
न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते उक्त विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।