रुपन्देही । प्रेमीको घरमा गएर श्रीमती र छोरी कुटेको आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन् ।
उक्त घटनाको सत्यतथ्य छानबिनका लागि ३ सदस्यीय छानबिन समिति समेत गठन गरिएको थियो । तर, छानबिन समितिको प्रतिवेदन आउनु अघि नै उनले पदबाट राजीनामा दिइएकी छन् ।
उनको राजीनामा स्वीकृत समेत भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यमन्त्री वलीले असार १२ गते दिएको राजीनामा १५ असारमा स्वीकृत भएको प्रदेशसभामा जानकारी गराए ।
यसअघि बुधबार दिउँसो बसेको लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशनको १९ औं बैठकको सुरुमै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली घटनाको विषयमा सरकारको धारणा मागेका थिए ।
जेठ ३१ गते वली प्रेमी भनिएका दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिटमा संलग्न भएपछि विवादमा तानिएकी थिइन् ।
घटनाको छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन आउनुअघि नै उनलाई राजीनामा दिन लगाइएको हो ।
विवादमा परेकी वलीको विषयमा गरिएको छानबिन प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन । यस अघि पनि उनी कहिले प्रेमीसँग चुम्बनको तस्वीरका कारण त कहिले मुख्यमन्त्रीले अपहरण गरेको आरोपका कारण विवादमा तानिएकी थिइन् ।
पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा विमला तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।