झापा । गएरातिदेखि परेको अविरल वर्षाका कारण झापाका अधिकांश स्थान डुवान र कटानमा परेका छन् ।
भारी वर्षाका कारण यहाँको धनजनको क्षति भएको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ ।
जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ । केही नदी गाउँ पसेका छन् । नदी कटान तीव्र भएकाले नदी गाउँमा पस्ने खतरा रहेको उनले बताए । ‘राजमार्ग दक्षिणका अधिकांश भू–भाग ढुवानमा छ । विस्थापितको संख्या कम भए पनि हजारौं घर ढुवानमा परेका छन्,’ ढकलालले भने, ‘केही नदी बस्तीमा पर्ने खतरा छ ।’
कन्काई नदीमा आएको बाढीका हालसम्म गौरीगञ्ज–१ महाभारामा ४ घर विस्तापित भएका छन् । बाँकी ठाउँबाट पनि विस्तापित भएको सूचना आएको बताइएको छ । उद्धारका लागि सुरक्षा निकायको टोली तैनाथ रहेको बताइएको छ ।
कमल-बनियानी खोलामा आएको बाढीका कारण साविक पाँचगाछीको सुकुम्वासी वस्तीमा जोखिम बढेको छ भने शिवसताक्षी ४ मा नवनिर्मित आर्यघाटमा क्षति पुगेको छ ।

पूर्वी तराईका झापा मोरङ, सुनसरीका अधिकांश स्थानहरूमा पछिल्लो १२ घण्टामा अतिभारी वर्षा भएको छ ।

थप वर्षा हुनसक्ने बताउँदै मेची, विरिङ,कन्काई,कमल–बनियानी बक्राहा, लोहन्द्रा,बुढीखोला, सुनसरीखोला लगायतका तराई र चुरे भएर बहने साना तथा ठूला नदीहरूमा बाढीको जोखिम तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेले भोलिसम्म उच्च सतर्कता अपनाउन अनुरोध समेत गरिएको छ ।