शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भारी वर्षाले डुवानमा झापा 

मंगलबार, असार १४ २०७९

झापा । गएरातिदेखि परेको अविरल वर्षाका कारण झापाका अधिकांश स्थान डुवान र कटानमा परेका छन् । भारी वर्षाका कारण यहाँको धनजनको क्षति भएको छ ।  सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ ।

जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ । केही नदी गाउँ पसेका छन् । नदी कटान तीव्र भएकाले नदी गाउँमा पस्ने खतरा रहेको उनले बताए । ‘राजमार्ग दक्षिणका अधिकांश भू–भाग ढुवानमा छ । विस्थापितको संख्या कम भए पनि हजारौं घर ढुवानमा परेका छन्,’ ढकलालले भने, ‘केही नदी बस्तीमा पर्ने खतरा छ ।’

कन्काई नदीमा आएको बाढीका हालसम्म गौरीगञ्ज–१ महाभारामा ४ घर विस्तापित भएका छन् । बाँकी ठाउँबाट पनि विस्तापित भएको सूचना आएको बताइएको छ । उद्धारका लागि सुरक्षा निकायको टोली तैनाथ रहेको बताइएको छ ।
कमल बनियानी खोलामा आएको बाढीका कारण साविक पाँचगाछीको सुकुम्वासी वस्तीमा जोखिम बढेको छ भने शिवसताक्षी ४ मा नवनिर्मित आर्यघाटमा क्षति पुगेको छ ।