शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मूल्यवृद्धिका कारण सरकारको चौतर्फी आलोचना, एमालेले महँगीविरुद्ध सशक्त आन्दोलन गर्ने

मंगलबार, असार ७ २०७९

काठमाडौं । सरकारले विभिन्न कारण देखाउँदै पटक-पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनताको ढाडसेक्ने काम गरेको भन्दै चौतर्फी विरोध र आलोचना भएको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण सडकदेखि सदनसम्म सरकारको चर्को विरोध समेत भएको छ ।
 
नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै मूल्यवृद्धिलाई लिएर सरकारको चौतर्फी विरोध भएको हो ।

सडकमा विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले विरोध प्रदर्शन गरेका छन् भने संसद्मा सांसदहरूले सरकारको आलोचना गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

यसअघि गत जेठमा तीनपटक इन्धनको मूल्यवृद्धि भएको थियो । उक्त निर्णयको चौतर्फी विरोध भएपछि सरकारले अधिकतम् प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको थियो । चौतर्फी विरोधको सामना गर्न नसकेपछि घटाएको उक्त मूल्यभन्दा अहिले सरकारले करिब दुई गुणा बढी इन्धनको मूल्यवृद्धि गरेको छ ।

सातामै दुई पटकसम्म मूल्यवृद्धि गरेको र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अन्य वस्तुमा पनि अत्यधिक मूल्यवृद्धि हुने भन्दै सत्तापक्ष र विपक्षी दलका सांसदहरूले मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर करोडौँ घोटाला भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले स्टक डिजेल पेट्रोल बिक्री रोकेर मूल्यवृद्धि गर्दै करोडौँ रुपैयाँ घोटाला भएको आरोप लगाइन् । उनले राहत दिने बेलामा सरकारले जनतालाई आहत दिइरहेको भन्दै विरोध गरिन् । 

आइतबार दिउँसो पेट्रोल पम्पहरूमा पेट्रोल र डिजेल पठाएर राति १२ बजेदेखि नयाँ मूल्य कायम गरी करोडौँ रुपैयाँको चलखेल भएको र उक्त घोटालाको छानविन गर्न माग गर्दै उनले भनिन्, ‘मूल्यवृद्धि गर्दै सरकारले राहत हैन आहत दिने काम गरेको छ । यो बेला आहात दिने हैन राहत दिने बेला हो । मूल्यवृद्धिले जनतालाई कष्टकर बनाएको कुरा एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन । केपी शर्मा ओलीले सरकार छाडेपछि मूल्यवृद्धि गर्न यो सरकारलाई के आइलाग्यो ? यसको जवाफ चाहन्छौँ । जनताको जीवन र जीविकासँग जोडिएको विषयमा किन मूल्यवृद्धि गरियो ? यी विषयमा मन्त्रीले जवाफ दिनुपर्छ । मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न सक्दैन । आज नै जवाफ दिनको निम्ति मन्त्रीलाई रुलिङ गर्नको निम्ति माग गर्दछु ।’

एमालेका सांसद नवराज सिलवालले यो सरकार नाफा कमाउने व्यापारी हो कि बिचौलिया हो ? भन्दै प्रश्न गरेका थिए । सोमबारको  शून्य समयमा बोल्दै सरकारको वेलफेयर स्टेटवाला अनुहार नराम्ररी कुरूप बनेको उनको टिप्पणी थियो ।

यसैगरी सत्तारूढ दलका सांसदहरूले पनि मूल्यवृद्धि नियन्त्रणमा राख्न सरकारसँग माग गरेका छन् । उनीहरूले सरकार मूल्यवृद्धि रोक्न चुकेको समेत टिप्पणी गरेका छन् । सत्तारूढ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले मूल्यवृद्धिबाट जनतालाई राहत दिन माग गरे ।

नेमकिपाका सांसद प्रेम सुवालले सरकारको गलत नीतिका कारण पनि मुलुकमा इन्धनको मूल्यवृद्धि भएको र जनता मारमा परेको टिप्पणी गर्दै भने, ‘भारतले १५–१५ दिनमा इन्धनको मूल्य बढाएर पठाएको छ । इन्धनसँगै खाद्यान्न र अन्य वस्तुको मूल्य बढिरहेको छ । बिजुली भारतमा दिन रोक्नुपर्यो । नेपालीलाई खाना पकाउन सस्तोमा दिन जरुरी छ । गठबन्धन सरकारले संयुक्त राष्ट्रसंघमा रुसविरुद्ध मत दिएकोले पनि यो मूल्यवृद्धि भएको हो । सरकारले यो गल्ती सच्याउन जरुरी छ ।’

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चर्को मूल्यवृद्धिविरुद्ध सडकदेखि सदनसम्म संघर्ष गर्ने तयारी गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिसँगै त्यसको प्रभाव हरेक वस्तुमा पर्ने भएकाले महँगीविरुद्ध सशक्त आन्दोलनको खाँचो रहेको एमालेको ठहर छ ।

एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेको तयारीबारे भने,  ‘हामी महँगीविरुद्ध कडाइका साथ प्रस्तुत हुन्छौँ, महँगीको हामी विरोध गर्छौं तर प्रभावकारी विरोध कसरी गर्न सकिन्छ भनेर पार्टीमा पनि छलफल गर्दैछौँ । सरकारलाई महँगी नियन्त्रण गर्न हामीले करका दर घटाएर सन्तुलित बनाउन सुझाव पनि दिएका हौँ । सुनेझैँ गर्छ तर काम गर्दैन, समस्या यसैमा छ ।’ 

नेकपा एमालेले यसअघि गत जेठ २१ गते नै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध प्रतिनिधिसभामा अत्यन्त जरुरी महत्वको प्रस्ताव पेश गरेर छलफलसमेत भएको थियो ।

यसैबीच एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ ।

सोमबार साँझ काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिबाट अनेरास्ववियुले मसला जुलुस प्रदर्शन गरेको थियो ।

आन्दोलनमा उत्रिएका अनेरास्ववियु र प्रहरीबीच झडपसमेत भएको थियो । 

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल आयल निगमसँग पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण मागेको छ ।

आयल निगमलाई सोमबार पत्र बुझाउँदै राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सातवटा प्रश्नको जवाफ मागेको हो । राप्रपाले नेपालका अतिविशिष्ट व्यक्तिहरूलाई वार्षिक रूपमा उपलब्ध गराउने इन्धनको परिमाण, आयल निगमका कर्मचारीले पाउने बोनस के कति हो ? पेट्रोल, डिजेल र मट्टीतेलको कच्चा पदार्थको मूल्य, त्यसको प्रशोधनमा लाग्ने खर्च, सरकारलाई तिनुपर्ने कर, ढुवानीमा लाग्ने भाडासहितको विवरण माग गरेको छ ।