काठमाडौं । यतिबेला राजनीतिक वृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको भनेकाे विषयले तरंगित छ ।
यसले फेरि सरकार परिवर्तनको खेल सुरु हुने हो की भन्ने चासो बढाइदिएको छ ।
अफर पाउने भाग्यमानी नेता दुवैले आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको भनेरहे पनि कहाँबाट कस्ले गर्यो त अफर ? भन्ने विषयमा केही बोलेका छैनन् ।
माओवादीका अध्यक्ष प्रचण्डले केही दिन अघि आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको भए पनि त्यसलाई अस्वीकार गरेको दाबी गरे । आफू त्यो लाइनमा नभएको भन्दै उनले विभिन्न सभा तथा अन्तर्वार्तामा पनि भन्दै आएका छन् । उनको दाबीलाई बल पुग्ने गरी एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि प्रचण्डलाई मात्र नभएर आफूलाई पनि प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको दाबी गर्दै चर्चा बटुलिरहेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले बिहीबार वीरेन्द्रनगर आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको अफर आएको बताए पनि कुन दल र कसले भन्ने विषयमा केही बोलेनन् । बरु उनले अप्रत्यक्ष रुपमा एमाले तिर लक्षित गर्दै भने, ‘अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरु फैलाइरहेका छन्’, उनले भने, ‘हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौँ ।’
स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठूला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएको समाचारहरु सार्वजनिक भइरहँदा प्रचण्ड र माधव स्वयंले प्रधानमन्त्रीको अफर आएको बताएसँगै सत्ता गठबन्धनको मुख्य दल कांग्रेसका नेताहरु सशंकित बनेका छन् ।
पाँच वर्ष अघिको जस्तै चुनावको समयमा कतै वाम गठबन्धन बन्ने पो हो की भन्ने त्रासमा कांग्रेस छ । तर, तत्कालीन नेकपामा विवाद भएदेखि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका र अहिले दुई फरक फरक पार्टीका अध्यक्ष प्रचण्ड र नेपालले वाम गठबन्धनको विषयलाई यति सजिलै स्वीकार गरी नहाल्लान् भन्ने झिनो आशमा कांग्रेस छ । स्थानीय तह निर्वाचनको परिणामले गठबन्धन गरेर अघि बढ्दा कांग्रेस, माओवादीलाई सोचेभन्दा बढी फाइदा मिलेकाले माओवादी अध्यक्ष प्रचण्ड सजिलै त्यतातिर नजाने कांग्रेस नेतृत्वको बुझाइ छ ।
स्थानीय तहमा ठूलो दल बनेसँगै नेपाली कांग्रेसमा दम्भ बढेको र धेरै घमण्ड गरे एमालेको जस्तै अवस्था बनाइदिने प्रचण्डको धम्की र उनी आफैँले प्रधानमन्त्रीको अफर आएको भन्ने चर्चाले आगामी निर्वाचनका लागि धम्कीपूर्ण बार्गेनिङ मात्र हाे भन्न थालिएकाे छ ।
गठबन्धनको बलमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले यहि गठबन्धनलाई निरन्तरता दिने पक्षमा देखिएका छन् । तर, सिट बाँडफाँट लगायतका विषयमा अहिले देखिनै उनीहरु शक्ति सञ्चयका लागि लागेका छन् ।
एमालेलाई देखाएर प्रचण्ड र माधव नेपालले बार्गेनिङ गरेका हुन् भन्ने पनि चर्चा चलेको छ । प्रचण्ड र माधव दुवै जनाले आफूहरुलाई प्रधानमन्त्री प्रस्ताव आएको दाबी गरिरहँदा त्यस्तो प्रस्ताव एमालेबाट आएको होकी भन्ने अनुमान भइबेला एमालेका नेताहरु भने प्रचण्ड र माधवलाई प्रधानमन्त्रीको प्रस्ताव आएको दाबी गरिए पनि आफूहरुले त्यस्तो नगरेको एमाले नेताहरुले बताएका छन् ।
एमाले महासचिव शंकर पोखरेलले भनेका छन्, ‘यतिवेला नेकपा (एमाले) सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि वलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछ ।’
यसैगरी उपाध्यक्ष विष्णु पौडेलले पनि एमालेबाट यस्तो खालको प्रस्ताव नगएको दाबी गरेका छन् । उनले आगामी दिनमा पनि त्यस्तो सम्भावना नभएको बताएका छन् ।
एमालेले प्रस्ताव नगरेको उनको दाबीलाई सही मान्ने हो भने उनीहरुलाई कसले प्रधानमन्त्रीको अफर गरेको छ भन्ने प्रश्न उब्जिनु स्वभाविक छ ।
शेरबहादुर देउवा स्वयंले सत्ताको नेतृत्व गरिरहेका बेला कांग्रेसबाटै त्यस्तो प्रस्ताव जाने सम्भावना नै छैन । उनीहरुले स्थानीय तहको चुनावबाट कांग्रेसको आडमा चुनाव जितेकाले अब प्रतिनिधि सभा निर्वाचन गर्ने विषयमा छलफल सुरु भएपछि बढी सीट पाउनका लागि गरिएको बार्गेनिङ मात्र भएको राजनीतिका जानकारहरुले बताएका छन् ।
कहाँबाट कसले अफर गर्यो नखुलाउनु स्थानीय तहको निर्वाचन पछि गठबन्धनमा तिक्तता बढेको समय पारेर योजनाबद्ध रुपमा उनीहरुले संसदीय निर्वाचन र सत्ताशक्तिका लागि बार्गेनिङ हाे भन्न थालिएकाे छ।