बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बजेट निर्वाचन केन्द्रित अनि जनता भुल्याउने ललिपप् जस्तो: राजेन्द्र लिङदेन

बुधबार, जेष्ठ १८ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष लिङदेनले ललिपप जस्तो मानिसहरुलाई भुल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताए ।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दावी गरे । अध्यक्ष लिङदेनले बजेटले जनताको जीवनमा परिवर्तन ल्याउने कुनै योजना प्रस्तुत गर्न नसकेको समेत बताए ।

उनले भने, ‘बजेटको कुरा गर्दा अहिले मात्रै हामीले वितरणमुखि बजेट ल्याएको हो, अहिले मात्रै हामीले यस्तो बजेट ल्याएको हो ? भनेर टार्ने र जवाफ दिने खालको आउँछ । यो हाम्रो लागि र हामी कसैको लागि पनि सुखद कुरा होईन । यो बजेटको जव हामी कुरा गर्छौ इमान्दारीपूर्वक भन्नु पर्छ कि यसले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन ।’

उनले भने, ‘देशमा अहिले जुन प्रकारको आर्थिक संकट देखिदै गएको छ । जुन प्रकारको मूल्यवृद्धि देखिँदै गएको छ । त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन । यो बजेट केवल निर्वाचनलक्षित छ । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ । यो बजेटको स्रोत के हो, यसको कार्यान्वयनका आधारहरु के हुन ? कहीँ पनि स्पष्ट छैन ।’

अध्यक्ष लिङदेनले सरकारले ल्याएको बजेट स्रोतको एकीन नगरी अनुमानको भरमा आएको पनि बताए । उनले बजेटमा हेटाैँडा कपडा उद्योग संचालन गर्ने संयन्त्रको टुंगो नलगाई त्यसको कपडा प्रयोग गर्ने हावादारी कुरा गरिएको बताए ।