बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बजेटको मर्ममाथि नै प्रहार गर्दै गठबन्धनको हितमा दुरुपयोग गरिएको छ:  विष्णु पौडेल

मंगलबार, जेष्ठ १७ २०७९

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा(एमाले)का सांसद विष्णु प्रसाद पौडेलले सरकारको आ.व. २०७९/८० को बजेटले मुलुकले बोक्न नसक्नेगरी आर्थिक दायित्व सिर्जना गरेको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा आ.व. २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफलमा भाग लिदैँ सांसद पौडेलले वर्तमान सरकारले आफ्नो सिमा मिचेर पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेर मुलुकलाई धेरै आर्थिक दायित्व सिर्जना गरेको बताए । उनले मंसिरमा प्रतिनिधि सभाको आयु सकिएर चुनाव हुनुपर्ने भन्दै वर्तमान सरकार चुनावी सरकार भएको समेत बताए ।

बजेट संकटपूर्ण बन्दै गएको अर्थतन्त्रलाई ठिक बाटोमा फर्काउन तत्काल चाल्नुपर्ने कदममा केन्द्रीत हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । अर्थतन्त्रको चुनौतीलाई वेवास्ता गरिएको उनले उल्लेख गरे ।

सांसद पौडेलले बिना तयारीका दिर्घकालिन प्रकृतिका योजना र कार्यक्रमहरुका चाङ लगाइएको बताए । उनले आ.व. २०७९/०८० को बजेट सत्तारुढ गठबन्धनको घोषणापत्र र चुनावी पर्चा जस्तो भएको टिप्पणी गरे ।

बजेटले मतदातालाई भ्रममा पारेर भोट बटुल्ने उद्देश्य राखेको उनको भनाई छ । 

उनले राज्यको स्रोतलाई गठबन्धनको हितमा दुरुपयोग गरिएको आरोप लगाए । बजेटले बजेटको मर्म माथि नै प्रहार गरेको उनले बताए ।