बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोरोना बिमा रकम भुक्तानका लागि मोडालिटीको अभाव, ११ अर्ब ८२ पुग्यो रकम

बिहिबार, मंसिर २३ २०७८

काठमाडौँ । कोरोना बिमा बापत  सरकारले ब्यहोर्नुपर्ने  रकम ११ अर्ब ८२ करोड पुगेको छ ।   तर यो रकम कहिले भुक्तान हुन्छ भन्ने बारेमा अर्थ मन्त्रालयसँग स्पष्ट जवाफ नै छैन । बरु यो  भुक्तानका लागि मोडोलिटीको अभाव भएकाले अड्किएको भनेर अर्थमन्त्रालय रकम भुक्तानमा आलटाल गर्न खोज्दैछ ।

कोरोना बिमा बापतको रकम समयमै भुक्तान नगर्दा अहिले  बिमाको बिश्वसनियतामाथि नै प्रश्न उठेको छ । बिमा कम्पनीहरुले ब्यहोर्न नसक्ने बाहेकको रकम ब्यहोर्छु भनेको अर्थ मन्त्रालयले रकम माग गरेको झन्डै डेढ वर्ष बित्न लाग्दा सम्म पैसा भुक्तान गरेको छैन ।

कोरोना महामारीको पहिलो चरणमा नै कोरोनाका बिरामीलाई बिमा गरेबापत बिमा कम्पनीले एक लाख रुपैयाँ दिने घोषणा गरे । सुरुवातमा महामारीले यत्रो भयानक रुप ल्याउला भनेर नसोचेका बिमा कम्पनीले महामारी फैलिएपछि भने अत्तालिएर यो योजना नै बन्द गर्न खोजे । तर सरकारले योजना बन्द नगर्नु र बिमा कम्पनीले ब्यहोर्न नसक्ने रकम सरकारले ब्यहोर्ने भन्दै  कोरोना बिमा योजनालाई निरन्तरता दिइयो । कोरोना बिमा मापदण्ड २०७७ मा साढे तीन अर्व भन्दा माथिको रकम  नेपाल सरकारले ब्यहोर्ने प्रष्ट व्यवस्था छ ।

सोहि व्यवस्था बमोजिम  नै २०७७ कै साउन १६ गते अर्थमन्त्रालयले साढे तीन अर्ब भन्दा माथि  ब्यहोर्ने सचिव स्तरीय निर्णय भएको अर्थमन्त्रालयले बिमा समितिलाई जानकारी गराएको छ ।

बिमा समितिका अनुसार  कोरोना बिमा १ लाख ६१ हजार ५ सय ४९ जनाले कोरोना बिमा दाबी गरेका छन् । अर्थात यो दाबी अनुसार बिमा कम्पनीले भुक्तान गर्नुपर्ने रकम १५ अर्ब ३२ करोड हुन आउँछ । बिमा  कम्पनीहरुले १ अर्ब २८ करोड र कोरोना बिमाको लागि स्थापना गरेको  कोष अर्थात पुलबाट ३ अर्ब ५० करोड भुक्तान भएको छ । जबकी कोरोना बिमा बापत संकलन भएको रकम भने एक अर्ब हो । यसरी हेर्दा संकलित रकम भन्दा बढि भुक्तान भएको छ  ।

पहिलो लहरपछि दोस्रो लहर पनि सकिएर सोमबार त नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन प्रवेश गरेको पुष्टि भएको छ । यसरी सरकारले  कोरोना बिमा रकम भुक्तानमा गरेको ढिलाईले बिमा क्षेत्रमा उब्जाएको बिश्वासले भबिष्यमा यसको बजारमा भने ठूलो असर पार्ने देखिन्छ ।