काठमाडौँ l नेकपा एमालेमा अब अध्यक्ष र महासचिव दुईवटा पदमात्र महाधिवेशनबाट निर्वाचित हुने भएका छन् । त्यस्तै संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्यूरो र वैकल्पिक केन्द्रीय सदस्य पनि नराखिने भएको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेको हो ।
संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा कार्यदलले बनाएको सो प्रस्तावलाइ स्थायी कमिटीले पारित गरेर प्रस्तावित विधान केन्द्रीय कमिटीमा पेश गरिएको हो ।
अरु पदाधिकारी भने महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । २२५ केन्द्रीय कमिटी बनाइने प्रस्तावित विधानमा उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउन प्रस्ताव गरिएको छ ।
स्थायी कमिटीबाट पारित उक्त विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेमा महाधिवेशनमा लगिने छ ।
माधव नेपाल–झलनाथ खनाल पक्ष सहभागि नभएको बैठकले महत्वपूर्ण निर्णय गरेपछि एमालेमा भइरहेको एकताको प्रयास अब झन टाढिने देखिएको छ ।