सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अब नेपालले नाकाबन्दीको अवस्था सामना गर्नुपर्ने स्थिति अन्त्य भयोः प्रधानमन्त्री ओली

सोमबार, फाल्गुन ३ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको यातायात र पारवहन सम्झौतापछि भविष्यमा नेपालले नाकाबन्दी जस्तो अमानवीय अवस्था सामना गर्नुपर्ने स्थिति अन्त्य भएको बताएका छन् ।

आफ्नो सरकारले तीन वर्षमा प्राप्त गरेका उपलब्धी जानकारी गराउन सोमबार आयोजना गरिएको प्रेस बिफ्रिङलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चीनँगको सम्झौतापछि नेपाल भूपरिवेष्ठितबाट भूजडित मुलुकमा फेरिएको बताए ।

‘चीनसँगको यातायात पारवहन सम्झौतापछि नेपालको अवस्था भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकका रुपमा फेरिएको छ । यसले भविष्यमा नेपालले नाकाबन्दी जस्तो अमानवीय अवस्था सामना गर्नुपर्ने स्थितिलाई अन्त्य गरिदिएको छ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अन्य क्षेत्रमाझैं आफ्नो सरकारले परराष्ट्र नीति सञ्चालनमा पनि उपलब्धी हासिल गरेको दावी गरे ।

आफ्नो भूमिका, पहिचान, परिचय र प्रभाव विस्तार गरेकै कारण आफू प्रधानमन्त्री भएको ३ बर्ष अवधिमा नेपाल अन्तर्राष्ट्रिय क्षेत्र र संघरसंस्थामा देखिने, सुनिने, बोलाइने र पत्याइने मुलुकको रूपमा स्थापित भएको दावी ओलीले गरे ।

प्रधानमन्त्रीले ३ वर्षको अवधिमा थप १२ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना भई नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या १६८ पुगेको उल्लेख गरेका छन् । त्यसैगरी थप १५ मुलुकसँग द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको पनि उनले सुनाए ।

संयुक्त राष्ट्रसंघको महिलामाथि हुने सबै प्रकारका हिंसाविरुद्धको समिति ९सिड० र मानव अधिकार परिषदमा नेपाल दोस्रो पटक निर्वाचित भएको विषयलाई प्रधानमन्त्री ओलीले अर्को उपलब्धीको रुपमा प्रस्तुत गरेका छन् ।

यसबाहेक तीन वर्षमा आफूले विभिन्न मुलुकको गरेको भ्रमण र विदेशी पाहुनाको नेपाल भ्रमणलाई पनि सरकारको सफलताको रुपमा चित्रित गरेका छन् ।

उनले भने, ‘गतबर्ष पनि मैले केही महत्वपूर्ण भ्रमणलाई यस सन्दर्भमा उल्लेख गरेको थिएँ । नेपालको प्रधानमन्त्रीको बेलायत र फ्रान्सको औपचारिक भ्रमण दुई दशकपछि भयो ।

हाम्रो परराष्ट्र मन्त्रीको अमेरिकाको औपचारिक भ्रमण १७ वर्षपछि र रुसको भ्रमण १४ वर्षपछि भयो ।’

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपतिको नेपाल भ्रमण २३ वर्षपछि भएको, भारतका प्रधानमन्त्रीको एउटै कार्यकालमा ४ पटक नेपाल भ्रमण भएको पनि उल्लेख गरेका छन् ।