काठमाडौं- बृहत नागरिक आन्दोलनले मुलुकमा बढ्दै गएका महिला हिंसा, हत्या र बलात्कारका घटनाविरुद्ध काठमाडौंमा मार्चपास गर्दैछ।
दिउँसो २ बजे वसन्तपुरबाट सुरु हुने मार्चपास न्युरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा पुग्नेछ। मार्च पासमा अधिकारकर्मी मोहना अन्सारी, कैलाश राई, अर्चना थापालगायत सहभागिता रहनेछ। दण्डहीनता अन्त्यका लागि आयोजना गरिएको र्यालीमा सहभागी हुन आन्दोलनले सवैलाई अपिल गरेको छ।
मैना सुनुवार, निर्मला पन्त, अंगिरा पासिदेखि भागरथी भट्टसम्म बलात्कार र हत्याका घटना बढ्दै गएकाले यसको सिलसिला बन्द गर्नुपर्ने माग राख्दै आन्दोलन गर्न लागिएको आयोजकले जनाएको छ।
यस्तै, बलात्कारविरुद्ध मधुवन साहित्यिक प्रतिष्ठानले भोलि सडकमा रचना बाचन गर्दैछ। दिउँसो १ बजे माइतीघर मण्डलामा बलात्कारकाविरुद्ध, न्यायका निम्ती भन्ने नारासहित कार्यक्रम गर्न लागिएको जनाएको छ।
पछिल्लो पटक बैतडीमा घटेको बलात्कार र हत्याको घटनासहित मुलुकमा भएका विभिन्न घटनाको दोषी छानविन गरी कारबाही गर्न विभिन्न सघंसस्थाले दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।