काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) दाहाल–नेपाल समूहकी युवा नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् ।
प्रहरीले उनलाई पक्राउ परेको साढे ५ घण्टापछि रिहा गरेको हो । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए।
रिहाइपछि नेतृ रामकुमारी झाँक्रीले लोकतन्त्रका पक्षधरसामु सरकार झुकेको प्रतिक्रिया दिएकी छिन् । ‘मेरो विरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन, राजनीतिक प्रतिशोधका कारण मलाई नियन्त्रणमा लिने प्रयास गरेको रहेछ । पछिल्लो प्रतिगमनविरुद्धको आन्दोलमा मैले जसरी देशव्यापी उपस्थित हुँदा प्रस्तुत भएँ यसलाई ह्यार्यास्म्यान्ट गर्ने उद्देश्यले यो कदम चालिकएको जस्तो लाग्यो , ‘उनले भनिन् ,’यहाँ अरु केही भएन, दिनभरी सबैले दिनुभएको सहयोग र बढाउनुभएको दबाबका अगाडि प्रतिगमन झुकेको छ, हामीले जितेका छौँ, म यहाँबाट विनाशर्त निस्केको छु ।’
प्रहरीले झाँक्रीलाई शंखमूलस्थित उनकै निवासबाट आज दिउँसो नियन्त्रणमा लिएको थियो । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोधसँगै र सरकारको आलोचना भएको थियो ।