बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

दोस्रो चरणका लागि खोप खरिद प्रकिया सुरू

बिहिबार, माघ १५ २०७७

काठमाडौँ- सरकारले दोस्रो चरणमा चाहिने कोरोनाविरूद्धको खोप खरिद पक्रिया सुरू गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको एक वर्षपछि बुधबार खोप अभियान थालेको सरकारले दोस्रो चरणका लागि आवश्यक खोप खरिद प्रकिया सुरू गरेको हो ।

यसका लागि भारतस्थित नेपाली राजदूतावासमार्फत त्यहाँको परराष्ट्र मन्त्रालय र नीति आयोगसँग परामर्श भइरहेको जनाइएको छ । नेपाललाई १० लाख डोज ‘कोभिशिल्ड’ खोप अनुदानमा दिएको भारतले विक्रीका लागि प्रति मात्रा भारतीय ३०० रूपैयाँसम्म पर्न सक्ने अनुमानित मूल्य प्रस्तुत गरेको स्रोतले जनाएको छ । तर, यसबारे अन्तिम निर्णय भइनसकेकाले मूल्य तलमाथि हुन सक्ने निकट स्रोतले जनाएको छ ।

अहिले खोप लगाएकाहरूलाई २८ दिनपछि दोस्रो डोज दिन पर्नेछ । त्यसबाहेक दोस्रो चरणका लागि १७ प्रतिशत अर्थात ५१ लाख नागरिकलाई खोप उपलब्ध गराउने तयारीस्वरूप खरिद पक्रिया अघि बढाएको हो ।

यसका लागि आवश्यक बजेट व्यवस्था भइसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले बुधबार खोप अभियानका क्रममा खोप खरिदका लागि आवश्यक बजेट व्यवस्था भइसकेको जनाएका थिए ।