राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्त (युएनएचसिआर)को दमक कार्यालय बन्द भएसँगै भुटानी शरणार्थी रेखदेखको जिम्मेवारी नेपाल सरकारले लिएको छ । २८ वर्षदेखि झापामा रहेका भुटानी शरणार्थीलाई हेर्दै आएको युएनएचसिआरले समस्या पूर्ण रूपमा समाधान नभई शरणार्थीलाई छाडेको हो ।
दातृ निकायले छाडेपछि भुटानी शरणार्थीको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिएको छ । सन् २०२० को अन्त्यसँगै युएनएचसिआरको दमक कार्यालय पनि बन्द भएको थियो । भुटानी शरणार्थीको ९२ प्रतिशत समस्या समाधान भएको दाबी गर्दै कार्यालय बन्द गरिएको हो । हालसम्म एक लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत तेस्रो देश पुनर्वास भइसकेका छन् । सन् २००७ देखि सुरु भएको पुनर्वास प्रक्रिया सन् २०१६ मा स्थगित भएको थियो ।
हाल दमक–३ स्थित बेलडाँगी शिविर र मोरङको पथरीशनिश्चरे शिविरमा ६ हजार ३६५ जना भुटानी शरणार्थी छन् । उनीहरूको रेखदेखका लागि जिल्ला प्रशासन कार्यालय झापाको मातहतमा दुवै शिविर हेर्ने गरी शरणार्थी समन्वय एकाइ राखेको छ । दातृ निकायले छाडेसँगै यो एकाइको पनि जिम्मेवारी बढेको हो । ‘दातृ निकायले पूर्ण रूपमा छाड्यो । अब भुटानी शरणार्थीको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुनेछ,’ झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने, ‘उहाँहरूको सेवासुविधाका लागि बजेट बनाएर गृह मन्त्रालयमा पठाएका छौँ ।’
भुटानी शरणार्थीको स्वास्थ्यको जिम्मेवारी आम्दा अस्पताल दमकलाई दिइएको उनले बताए । यस्तै, शिक्षाको जिम्मेवारी भने बेलडाँगीमा रहेका शरणार्थीका लागि दमक नगरपालिका र पथरीशनिश्चरेमा रहेकाका लागि पथरीशनिश्चरे नगरपालिकाले लिएको प्रजिअ तिमिल्सिनाले बताए । आजको नयाँ पत्रिका बाट