अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शपथ ग्रहण समारोह नजिकिँदै गर्दा सुरक्षा व्यवस्था अति कडा पारिएको छ।
सुरक्षा खतराका कारण शपथ ग्रहण समारोहको दुई दिन पहिले सोमबार राजधानी वासिङ्गटन डिसीस्थित संसद भवन केही समयका लागि लकडाउन गरिएको थियो।
गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन्।
ट्रम्पले बिना प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन्। नतिजा उल्ट्याउनका लागि अदालतदेखि निर्वाचन अधिकारीलाई दबाब दिनेसम्मको काम गरेका ट्रम्पले बल प्रयोगका लागि समर्थकलाई उक्साएको अभियोग छ।
जनवरी ६ मा दुवै सदनको संयुक्त शत्र मार्फत बाइडेनको जितलाई अन्तिम औपचारिकता प्रदान गर्ने काम भइरहँदा ट्रम्पको उक्साहटमा उनका समर्थकले संसद भवनमा हिंसात्मक आक्रमण गरेका थिए।
सो घटनामा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गयो। हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रोपटक महाअभियोग लागेको छ।

संसद भवनमा भएको सो घटनापछि संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले बाइडेनको शपथ ग्रहण समारोहलाई लक्षित गरेर ट्रम्पका समर्थकहरुले हिंसात्मक प्रदर्शन गर्न सक्ने चेतावनी दिएको थियो। त्यसपछि सबै ५० राज्य तथा राजधानी वासिङ्गटन डिसीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
न्यूयोर्क टाइम्सका अनुसार बाइडेनको शपथ ग्रहण समारोहका लागि गरिएको सुरक्षा व्यवस्था आधुनिक समयमा अमेरिकामा आन्तरिक कार्यक्रमका लागि गरिएको सबैभन्दा बलियो सुरक्षा तयारी हो।
सोमबार बाइडेनको शपथ ग्रहण समारोहको रिहर्सलको क्रममा क्यापिटल हिल केही समय लकडाउन भएको थियो, जसका कारण रिहर्सल केही समयका लागि रोकिएको थियो।
क्यापिटल हिल (संसद भवन) सहित वासिङ्गटन डिसीको मध्य क्षेत्रमा नेशनल गार्डका हजारौँ सुरक्षाकर्मी तैनाथ भएका छन्।

महाभियोग बोकेर फर्किँदै ट्रम्प
राष्ट्रपति ट्रम्पमाथि अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले दोस्रोपटक महाभियोग प्रस्ताव पारित गरेको छ। यसरी अमेरिकी इतिहासमै दुईपटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति पनि डोनाल्ड ट्रम्प नै बनेका छन्।
अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि उहाँविरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए। महाभियोगको सार्वजनिक मत परिणामअनुसार महाभियोग प्रस्तावको पक्षमा दुई सय ३२ मत परेको छ। महाभियोग लगाउन दुई सय १७ मत आवश्यक थियो। यहाँको हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्र्याट पार्टीका दुई सय २२ जना सदस्य रहेका छन्।
त्यो भन्दा पनि बढी राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेका थिए। महाभियोगको प्रस्तावको विपक्षमा भने एक सय ९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए। अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सले सन् २०२० मै पनि उहाँका विरुद्धमा महाभियोगको प्रस्ताव पारित गरेको थियो। तर त्यस समयमा भने उनको दल रिपब्लिकनका तर्फबाट एकजना पनि सांसदले महाभियोगको पक्षमा मत दिएका थिएनन्।
यस पटकको दृश्य उनका विरुद्धमा फेरिएको देखियो। सायद जसरी यहाँको डेमाक्र्याट पार्टी होस् या विश्वका देशहरुले पनि अमेरिकाजस्तो देशमा पनि यसरी राष्ट्रपतिकै उक्साहटमा संसदमै हमला गर्ने काम जसरी भयो त्यसले राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकनका सदस्यहरुलाई पनि अप्ठेरो लागेको हुनुपर्छ। अमेरिकी संसद्को तल्लो सदनले पारित गरेको सो महाभियोग प्रस्ताव अब यहाँको माथिल्लो सदन अर्थात् सिनेटबाट पनि पारित हुनुपर्नेछ । उक्त प्रस्ताव पारित हुन सिनेटको मतको दुईतिहाइ आवश्यक हुन्छ। यस प्रयोजनका लागि सिनेटमा कम्तीमा पनि १७ जना रिपब्लिकन सिनेटर ट्रम्पको विपक्षमा अर्थात् महाभियोगको पक्षमा उभिनुपर्नेछ। तर, यो सम्भावना भने निकै कम देखिन्छ। अब उहाँको बहिर्गमन दुई दिनमात्र बाँकी रहेकाले सिनेटले पनि यस विषयमा अब मतदान नगर्ला।
राष्ट्रपति ट्रम्प सबै अमेरिकी नागरिकको सद्भाव र माया भन्दा पनि आफ्नो कार्यकाल सकेर निवास फर्किँदा अभियोग बोकेरै फर्किनुहुने भएको देखिएको छ। त्यसो त उनीमाथि सदैव आउने नागरिक सर्वोच्चताको प्रश्न आउने नै छ।
लोकतान्त्रिक मूल्य मान्यता र प्रजातान्त्रिक संस्कार अमेरिकीले कसरी ग्रहण गर्छन् र तेस्रो विश्वलाई सिकाउँछन् भन्ने प्रश्न पनि अब अमेरिकीहरुले संसारका विभिन्न भूगोगमा पुगेर सामना गर्नुपर्ने पनि हुनसक्छ । यी सबै प्रश्नहरु कति आफूसँग, कतिपय अमेरिकी जनताको मन मष्तिष्कमा र केही ह्वाइट हाउसमै थाँती राखेर फर्किदैछन् ट्रम्प।
अनि ‘ओभल अफिस’को घर्रामा बाराक ओबामाले हातैले लेखेको अनुभव मिश्रित चिठीमा जस्तो नागरिक सर्वोच्चताको सम्मानको भाषा भने सायद उहाँको अनुभव पत्रमा नपर्न सक्छ। अर्को कुरा अहिलेको विश्वका नागरिक अभिव्यक्ति स्वतन्त्रताका सारथि बनेका फेसबुक ट्वीटरलगायतका सामाजिक सञ्जालहरुले उहाँका अभिव्यक्तिलाई असामाजिक भनेर प्रतिबन्धित गरिसकेका छन्। जसका कारण लगभग घन्टाघन्टामा ‘अपडेट’ गर्ने गरिएको उनको ट्वीटर अकाउन्टमा आफू ह्वाइट हाउसबाट निस्किन लागेको तस्वीर पोष्ट गर्ने स्थान पनि अहिलेलाई उनले सुरक्षित राख्न सकेनन्। । यसैले अमेरिकी इतिहासमै यो एउटा नयाँ प्रकारको सत्ता ‘शक्ति’ हस्तान्तरणको उदाहरणका रुपमा रहनेछ।