सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एनआईसी एशियाको वीच्याट–पे भुक्तानी सेवा सुरु, चिनियाँ पर्यटकलाई सजिलो

मंगलबार, पुष १४ २०७७

एनआईसी एशिया बैंकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ । 

यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्नका लागि यस बैंक, फष्ट पे टेक्नोलोजी प्रा। लि। र चीनको स्वीफ्टपास कम्पनीबीच त्रीपक्षीय सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, फष्ट पेका तर्फबाट निर्देशक विप्लव जोशी र स्वीफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट म्याजिक टाङले हस्ताक्षर गरेका बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

यस सम्झौतापश्चात् वीच्याट–पे मोबाइल वालेट प्रयोगकर्ताहरूले यस बैंक अन्तर्गतका मर्चेन्टहरूमा राखिएका क्यूआर कोड स्क्यान गरेर डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकले वीच्याट–पेबाट भुक्तानी प्राप्त गर्न चाहने मर्चेन्टहरूका लागि बैंकको वेबसाइट एनआइसी एशिया बैंक डटकममार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ । 

‘डिजिटल फष्ट बैंक’ बन्ने आफ्नो दीर्घकालीन रणनीतिलाई हासिल गर्नका लागि यस बैंकले ग्राहकमाझ सहज एवम् सबल बैंकिङ्ग सुविधाका लागि हालसम्म देशभर १५ हजार भन्दा बढी क्यूआर मर्चेन्टहरू खडा गरिसकेको छ ।

देशभर यसरी सञ्जाल बिच्छाउन सफल भएपश्चात् वीच्याट–पेलाई आफ्नो भुक्तानी प्रणालीमा ल्याउनुले नेपालको डिजिटल भुक्तानीको इतिहासमा नयाँ मानक थप्ने बैंकले विश्वास लिएको छ ।

हाल कोरोना महामारीका कारण पर्यटक आवतजावत निकै कम रहेपनि वर्षेनी चीनबाट ठूलो संख्यामा पर्यटक घुम्न आउने गरेको सरकारी तथ्याङ्क रहेको छ ।

यसरी नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य योगदान दिइरहेका चिनियाँ पर्यटकहरूले यहाँ आएर विभिन्न सेवा तथा सामग्री खरिद गरी सहज रुपमा वीच्याट–पेमार्फत भुक्तानी गर्न सक्नेछन् । 

चिनियाँ नागरिकहरूमा अत्यन्त लोकप्रिय रहेका उक्त मोबाइल वालेटको सेवा नेपालमा समेत सुचारु हुँदा चिनियाँ पर्यटकहरूलाई अत्यन्त लाभदायी हुनेछ र यसले नेपालमा चिनियाँ पर्यटकहरूले सामग्री तथा सेवामा खर्च गर्ने प्रकृयामा सहजता ल्याई राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा समेत सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।