ब्रिटेनमा एक लरी (ट्रक)मा मृत भेटिएका ३९ जना भियतनामी नागरिक रहेको प्रहरीले जनाएको छ। यसको पुष्टि गर्ने कार्य भइरहेको प्रहरीको भनाई छ ।
सुरुमा मृतक सबै चिनियाँ नागरिक भएको बताइएको थियो । तर अनुसन्धान गर्दै जाँदा प्रहरीलाई सबै मृतकहरू भियतनामी नागरिक हुन् भन्ने लागेको प्रहरी अधिकारी टिम स्मिथले बताएका छन् ।
यद्यपि कुनै पनि मृतकको सनाखत गर्ने अवस्थामा प्रहरी नभएको उनले बताए । एसिक्स प्रहरीले अहिले आफूहरू केही मृतकका भियतनाम र यूकेस्थित परिवारजन तथा भियतनाम सरकारसँग सोझो सम्पर्कमा रहेको बताएको छ।
लण्डनस्थित भियतनामी दूतावासले घटनाबाट आफू धेरै दुःखी भएको भन्दै शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गरेको छ। दूतावासले पीडितहरूको परिचय खुल्न र दुई देशका सम्बन्धित निकायले त्यसको पुष्टि गर्न बाँकी रहेको जनाएको छ।
ब्रिटिश मिडियाका अनुसार ३९ जनाको शव भेटिएको ट्रक बाहिरबाट बन्द थियो र भित्रको तापक्रम माइनस २५ डिग्री थियो । जसकारण मानिसहरुले स्वास फेर्न सकेनन् र अत्याधिक चिसोका कारण छटपटाउँदै उनीहरुको ज्यान गयो । यी व्यक्तिहरु लण्डन जाने प्रयास गरिरहेका थिए । यो घटनामा मानव तस्करहरुको हात रहेको बताइएको छ ।
डेली मेल पत्रिकाका अनुसार ट्रकको भित्र रगतले लतपतिएका हातका छापहरु भेटिएका छन् । मृत्युसँग जुधिरहेका मानिसहरु ट्रकको ढोका हातले फोडेर गुहारको प्रयास गरिरहेका थिए । यो घटनामा ट्रकका चालकसहित चारजना गिरफ्तार भएका छन् र अनुसन्धान जारी छ ।
भियतनामका ६ परिवारका सदस्यले ज्यान गुमेका मध्ये केही उनीहरुका आफन्त हुन सक्ने यसअघि नै बताएका थिए । त्यसमध्ये एक २६ वर्षकी फाम थी ट्रै पनि रहेको बताइएको छ । उनले अन्तिम पटक एक सन्देश पठाएकी थिइन् जसमा लेखिएको थियो कि उनलाई स्वास फेर्न मुस्किल भइरहेको छ । त्यसपछि उनको कुनै पत्तो छैन ।
२० वर्षका वियन लिन लुओंगका आफन्तको पनि भनाई छ कि उनी पनि ज्यान गुमाउने मध्येका एक हुन् । फाम ट्रै मीका दाइ फाम नोक त्वानले भने कि उनकी बहिनीलाई ब्रिटेन लैजानका लागि मानव तस्करहरुलाई ३० हजार पाउण्ड ९झण्डै ४४ लाख० बुझाइएको थियो । उनकी बहिनी अन्तिम पटक बेल्जियममा रहेको जानकारी मिलेको थियो ।
फाम ट्रै मीका दाइले भने, ‘ भियतनामबाट युके जाने क्रममा २३ अक्टोबरमा बहिनी बेपत्ता भएकी थिइन् । हामीले उसँग सम्पर्क गर्न सकेनौँ । हामीलाई चिन्ता छ कि त्यो लरीमा बहिनी पनि थिइन् ।’
फाम ट्रै मीको अन्तिम सन्देश राति १० बजे प्राप्त भएको थियो । त्यसको दुई घण्टापछि उक्त लरी बेल्जियमको जेब्रूगबाट परफ्लीट टर्मिनल पुगेको थियो । उनले आफ्ना आमाबुवालाई सन्देश पठाएकी थिइन् । जसमा लेखिएको थियो, ‘म माफी चाहन्छु आमा र बुवा, मेरो विदेश यात्रा असफल भयो ।’
उनले अगाडि लेखेकी थिइन्, ‘म मरिरहेकी छु, म स्वास फेर्न सकिरहेकी छैन, म हजुरहरुलाई धेरै माया गर्छु, म माफी चाहन्छु ।’