बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

प्रहरीलाई देख्दा नागरिकले डर होइन, भरोसा महसुस गर्ने वातावरण बनाउँछु : आईजीपी केसी

बिहिबार, कार्तिक १९ २०८३

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नागरिकले प्रहरीलाई देख्दा डर होइन, भरोसा महसुस गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा बोल्दै उनले आफ्नो कार्यकाललाई आफूले के पाएँभन्दा पनि नेपाली जनतालाई के दिन सकेँ भन्ने आधारमा मूल्यांकन गर्ने बताए ।

दर्ज्यानी चिह्नलाई काँधमा थपिएको अलंकारका रूपमा मात्र नभई राज्य, जनता र सात दशक लामो इतिहास बोकेको प्रहरी संगठनप्रतिको भरोसाको प्रतीकका रूपमा लिएको उनको भनाइ थियो ।

प्रहरी संगठनभित्रका आन्तरिक चुनौती र समस्यालाई नजिकबाट नियालेको उल्लेख गर्दै आईजीपी केसीले तल्लो तहका प्रहरी कर्मचारी, विशेषगरी जवान र हवल्दारका गुनासा सुन्न तत्काल छुट्टै संयन्त्र निर्माण गर्ने घोषणा गरे ।

‘आधारभूत तहलगायत सम्पूर्ण प्रहरी कर्मचारीको गुनासो सुन्ने एउटा संयन्त्र सचिवालयमै प्राथमिकताका साथ सञ्चालन गर्नेछौँ,’ उनले भने ।

उनले प्रहरी कर्मचारीको लामो कार्यघण्टा, स्रोतसाधन तथा भौतिक पूर्वाधारको अभाव, सरुवा–बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यलगायतका विषयमा प्रणालीगत सुधार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रहरी संगठनको एक्लो प्रयासले मात्रै पूर्ण शान्ति सुरक्षा कायम गर्न सम्भव नहुने भन्दै उनले सरकार, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिकको सहयोग आवश्यक रहेको बताए । आधुनिक प्रहरीको सबैभन्दा ठूलो पुँजी जनतासँगको सम्बन्ध भएको उनको भनाइ थियो ।

‘म नेपाल सरकारसँग आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तता अनि राजनीतिक दलहरूसँग प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्न सहयोगको विनम्र आग्रह गर्दछु,’ उनले भने ।

उनले सञ्चार जगतलाई प्रहरीका कमजोरीसँगै संगठनले गरेका राम्रा कामलाई पनि प्राथमिकताका साथ स्थान दिन आग्रह गरे ।