बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आफूमाथि उठेका प्रश्नको जवाफ छानबिनबाट दिन तयार रहेको बताएका हुन् । उनले आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्नसमेत तयार रहेको उल्लेख गरेका छन् ।
‘ममाथि निर्मम छानबिन गरियोस् । आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गरियोस्,’ उनले लेखेका छन्, ‘मैले कुनै कु-कर्म गरेको भए पार्टी, सरकार र राज्यले मेरो कारणले अप्ठ्यारोमा पर्नुपर्दैन ।’
उनले आफूमाथिका आरोपबारे पार्टी, सरकार र राज्यका सबै निकायले गर्ने छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन् । आफूमाथि प्रश्न उठेकै आधारमा पार्टीका सदस्य, शुभचिन्तक र मतदाताले शिर झुकाउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
सुनारले आफूमाथि आरोप लगाउने घटनासँग जोडेर एक महिलामाथि भइरहेको भनिएको प्रचार र टिप्पणीप्रति भने आपत्ति जनाएका छन् । राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय ती महिलालाई अनावश्यक रूपमा फोटो, अडियो र भिडियोसँग जोडेर मिडिया ट्रायल गरिएको उनको दाबी छ ।
‘जे कारबाही हो, ममाथि होस्– मलाई स्वीकार छ । उहाँमाथिको आक्रमण मान्य छैन,’ उनले लेखेका छन् ।
उनले ती महिलाले विगतमा आफूबाट दुःख पाएको भन्ने आरोपका आधारमा उनलाई सार्वजनिक रूपमा लखेट्नु उचित नभएको जिकिर गरेका छन् । आफूमाथि कुनै गलत कामको आरोप भए प्रहरी वा अदालतबाट अनुसन्धान गरेर कानुनी प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ ।
सुनारले आफ्नो फेसबुक स्टाटसमा प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ती महिलालाई पटक–पटक भेट्न बोलाएको तथा मुद्दा हाल्न सुझाव दिएको दाबीसमेत गरेका छन् । उनका अनुसार ती महिलाले आफू अन्यायमा परेको भए आफैँ मुद्दा हाल्ने बताएकी थिइन् ।
उनले आफू र ती महिलालाई एकैपटक सिध्याउने धम्की दिइएको केही दिनपछि घटनाक्रम अघि बढेको दाबी पनि गरेका छन् । यद्यपि, उनले प्रस्तुत गरेका यी दाबीबारे स्वतन्त्र पुष्टि भएको विवरण उपलब्ध छैन ।
सुनारले आफूमाथि उठेका प्रत्येक आरोपको सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिँदै अनुसन्धानबाट दोष प्रमाणित भए कानुनअनुसारको सजाय स्वीकार गर्ने बताएका छन् । साथै, आरोपसँग जोडिएकी महिलामाथि प्रहरी, राज्य, समाज र सञ्चारमाध्यमबाट दुर्व्यवहार हुन नहुने उनको भनाइ छ ।