काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
धार्मिक मान्यताअनुसार स्कन्दमाताको प्रतिमा सिंहासनमा विराजमान र दुवै हातमा कमलको फूल लिएकी स्वरूपमा वर्णन गरिएको छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ।
नवरात्रमा देवीको आराधना गरी विधिपूर्वक पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।
नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने चलन छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन्।
स्कन्दमातासम्बन्धी पौराणिक कथा
पौराणिक ग्रन्थहरूमा स्कन्दमातासम्बन्धी विभिन्न कथा उल्लेख गरिएको छ। एउटा कथाअनुसार भगवान् शिव र पार्वती ऋषिहरूको सभामा जाँदा सबैले उठेर स्वागत गरे पनि ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन्। यसबाट असन्तुष्ट पार्वतीले उनलाई उँट बन्ने श्राप दिएको कथन छ।
शिवले ज्ञानी व्यक्तिलाई श्रापले समेत विचलित पार्न नसक्ने बताएपछि दुवै जना उँटको स्वरूपमा रहेका सनतकुमारलाई भेट्न गए। पार्वतीले उँटको योनिमा कस्तो अनुभव भइरहेको छ भनी सोध्दा सनतकुमारले आफूलाई कुनै कष्ट नभएको र जङ्गलका काँडा खाँदै आनन्दपूर्वक ब्रह्मचिन्तन गरिरहेको उत्तर दिएको कथामा उल्लेख छ।
ऋषिको जवाफबाट प्रभावित पार्वतीले आफ्नो श्रापप्रति पश्चात्ताप गर्दै उनलाई पुत्रका रूपमा प्राप्त गर्न चाहेको बताइन्। सनतकुमारले पार्वतीको इच्छा स्वीकार गरी उनीबाट जन्म लिएको र त्यसपछि स्कन्दमाताका रूपमा परिचित भएको कथा धार्मिक आख्यानमा पाइन्छ।