बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

दसैँ मनाउन गाउँ फर्किने बढे, दुई दिनमा एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौं

बुधबार, असोज २८ २०८३

काठमाडौं । बडादसैँ नजिकिएसँगै राजधानी काठमाडौं छाडेर आफ्नो गाउँघर फर्किनेको चहलपहल बढेको छ। दसैँ मनाउन घर जाने यात्रुको संख्या बढेसँगै कलंकीलगायत उपत्यकाका विभिन्न नाकामा यात्रु तथा सार्वजनिक सवारीसाधनको चाप देखिन थालेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ र २६ गते दुई दिनमा मात्रै एक लाख नौ हजार ६३६ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन्। उपत्यका छाड्नेमा ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला रहेका छन्।

प्रहरीको तथ्यांकअनुसार असोज २५ गते ५२ हजार ८२७ जना र असोज २६ गते ५६ हजार ८०९ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए। असोज २६ गते बाहिरिने यात्रुको संख्या अघिल्लो दिनको तुलनामा बढेको देखिन्छ। असोज २७ गतेको तथ्यांक भने सार्वजनिक भइसकेको छैन।

दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू गाउँ फर्किन थालेपछि कलंकी क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको छ। यात्रुहरू परिवार तथा आफन्तसँग चाडपर्व मनाउन आवश्यक सामानसहित आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्।

दसैँका बेला राजधानीबाट बाहिरिने यात्रुको संख्या बढ्ने भएकाले उपत्यकाका प्रमुख नाका तथा बसपार्क क्षेत्रमा यात्रुको चाप थप बढ्ने देखिएको छ।