काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनालाई छिटो र प्रभावकारी बनाउन औसतमा २५ वटा टोली परिचालन गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।
उनका अनुसार दुई क्लस्टरको मतगणना बुधबार बिहानसम्म सकिएको छ भने चार क्लस्टरको गणना जारी छ। बाँकी छ क्लस्टरको मतगणना सुरु गर्ने तयारी भइरहेको उनले बताए।
निर्वाचन समितिका अनुसार जनसम्पर्क समितितर्फ दुई महिला र पाँच खुलासहित सात जना केन्द्रीय सदस्यको मतगणना सकिएको छ। पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको गणना पनि पूरा भएको छ।
हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ। त्यसैगरी, आदिवासी जनजातितर्फको सहमहामन्त्री तथा केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेशबाट भूगोलतर्फका खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्यको मत पनि गणना भइरहेको छ।
निर्वाचन समितिले धेरैको चासो रहेको खुलातर्फका ४५ केन्द्रीय सदस्य पदको मतगणना पनि थाल्ने तयारी गरेको छ।
यसका अतिरिक्त दलिततर्फको सहमहामन्त्री तथा खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य, अल्पसंख्यक तथा अपाङ्गतातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य, मधेसीतर्फको सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य, खस–आर्यतर्फको सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य र पेसागततर्फका खुला तथा महिला केन्द्रीय सदस्य पदको मतगणना सुरु गर्ने तयारी भइरहेको कांग्रेसको मिडिया सेन्टरले जनाएको छ।
एकैपटक धेरै टोली परिचालन गरिएकाले मतगणनाले गति लिएको निर्वाचन समितिको भनाइ छ। समितिले बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणना अघि बढाएको जनाएको छ।
मतगणनास्थल सानेपामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको छ।