बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बुटवलमा ७६ राइडरको उत्साहजनक सहभागिता

अपाचे रेसिङ क्वालिफायर्सबाट तीन फाइनलिस्ट छनोट

आइतबार, असोज १८ २०८३

जगदम्बा मोटर्स प्रा.लि.ले बुटवलमा आयोजना गरेको अपाचे रेस एक्सपेरियन्स (एआरई) रेसिङ क्वालिफायर्समा उत्साहजनक सहभागिता देखिएको छ । तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा सम्पन्न बुटवल चरणमा ७६ जना राइडर सहभागी भएपछि दर्ता प्रक्रिया नै रोक्नुपरेको आयोजकले जनाएको छ।

नेपालमा टीभीएस मोटर कम्पनीका दुई तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उदीयमान राइडर, मोटरस्पोट्र्सप्रेमी तथा एमेच्योर रेसरले व्यावसायिक रेसिङसम्बन्धी प्रशिक्षणसँगै प्रतिस्पर्धामा सहभागी हुने अवसर पाएका थिए।

कार्यक्रममा नेपालका पूर्व एआरई नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता सुजन थापा मगर र ट्र्याक तथा टार्मेक रेसिङकी चारपटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले सहभागीलाई प्रशिक्षण दिएका थिए। राइडरलाई राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ तथा भिजन कन्ट्रोललगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिइएको थियो।

प्रशिक्षणपछि १६० सीसी वर्गमा प्रतिस्पर्धात्मक रेस आयोजना गरिएको थियो। कडा प्रतिस्पर्धाबीच धीरज बि.क.ले ३४.०७ सेकेन्डको समय निकाल्दै पहिलो स्थान हासिल गरे । अभिषेक पन्थी ३४.६२ सेकेन्डसहित पहिलो उपविजेता र अरिक श्रेष्ठ ३४.८७ सेकेन्डसहित दोस्रो उपविजेता बने । यी तीनै राइडरले अब एआरई ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन् । उनीहरूले काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका क्षेत्रीय क्वालिफायर्सबाट छनोट भएका राइडरसँग राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्नेछन्।

बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा देखिएको सहभागिताले यस क्षेत्रमा मोटरस्पोट्र्सप्रतिको बढ्दो आकर्षण पुष्टि गरेको बताए । उनका अनुसार सहभागीमध्ये धेरै राइडर पहिलोपटक ट्र्याकमा उत्रिएका भए पनि राष्ट्रिय च्याम्पियनबाट प्रशिक्षण लिएर प्रतिस्पर्धामा सहभागी भएका थिए ।
एआरई ग्रान्ड फिनालेको १६० सीसी र २०० सीसी वर्गमा प्रथम हुने राइडरले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । त्यहाँ ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्ने अवसरसमेत प्राप्त हुने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने राइडरको यात्रा तथा आवास खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्नेछ।

जगदम्बा मोटर्सले नेपालमा मोटरस्पोट्र्स संस्कृति विकास गर्ने उद्देश्यले अपाचे रेस एक्सपेरियन्सलाई तीन चरणमा सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत सतुङ्गलस्थित भेहिकल रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा अपाचे ट्र्याक एक्सपेरियन्समार्फत खुला प्रशिक्षण, काठमाडौं, बुटवल, नेपालगञ्ज, इटहरी र पोखरामा क्षेत्रीय रेसिङ क्वालिफायर्स तथा त्यसपछि एआरई ग्रान्ड फिनाले आयोजना गरिनेछ।

कम्पनीले नेपाली राइडरलाई राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय मोटरस्पोट्र्समा पुग्ने अवसर सिर्जना गर्ने उद्देश्यले टीभीएस वान मेक च्याम्पियनसिपमा समेत सहयोग गर्दै आएको जनाएको छ । मद्रास इन्टरनेसनल सर्किटमा सुजन थापा मगरले हासिल गरेको जितलाई यस अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । बुटवल क्वालिफायर्समा सहभागी सबै राइडरलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने शीर्ष तीन राइडरलाई मञ्चमा सम्मान गरिएको थियो।