काठमाडौं । जापानमा जारी बीऔँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
नागोयास्थित कोरोगी स्पोर्टस पार्कमा आज तय भएको नेपाल र श्रीलङ्काबीचको क्वार्टरफाइनल खेल लगातार वर्षाका कारण सञ्चालन हुन सकेन। वर्षा नरोकिएपछि टससमेत हुन नसकेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।
प्रतियोगिताको नियमअनुसार वर्षा वा अन्य कारणले खेल सञ्चालन हुन नसकेमा ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता घोषणा गरी अघिल्लो चरणमा पठाउने व्यवस्था छ। यही नियमअनुसार श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेको हो।
हालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा श्रीलङ्का नवौँ स्थानमा छ भने नेपाल १४औँ स्थानमा रहेको छ। त्यसैले खेल नै नखेले पनि श्रीलङ्काले अन्तिम चारमा स्थान बनाउँदा नेपालको एसियाली खेलकुद यात्रा क्वार्टरफाइनलमै टुंगिएको हो।
नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण समूह चरणमा नेपाल र जापानबीचको खेलसमेत प्रभावित भएको थियो। उक्त खेल पूरा हुन नसकेपछि दुवै टोलीले अङ्क बाँडेका थिए।
यसअघि समूह चरणको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। त्यसपछि जापानसँग अङ्क बाँडेपछि नेपाल समूहबाट क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।