काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । खेल नतिजाविहीन भए पनि नेपाल समूह ‘ए’को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
वर्षाका कारण निर्धारित समयमा खेल सुरु हुन सकेको थिएन । करिब एक घण्टा ढिलो सुरु भएको खेललाई १५ ओभरमा छोट्याइएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनायो । नेपालका लागि जोराले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ५७ रन बनाए भने लोकेशले २२ बलमा ५२ रन जोडे । दुवै खेलाडी अविजित रहे । आसिफ शेखले २१ रनको योगदान दिए ।
जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले नेपालका एक–एक विकेट लिए ।
नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा सुरु भएपछि पिच ढाकिएको थियो । लगातार वर्षा भएपछि जापानको इनिङ सुरु हुन सकेन र खेल नतिजाविहीन घोषित गरियो ।
खेल नतिजाविहीन भएसँगै नेपालले २ खेलबाट ३ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा स्थान बनाएको छ । अफगानिस्तान २ अंकसहित समूह उपविजेता बनेको छ ।
क्वाटरफाइनलमा अब नेपालको सामना श्रीलंकासँग हुनेछ । अर्को क्वाटरफाइनलमा अफगानिस्तानले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।