बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एसियन गेम्समा नेपालले अफगानिस्तानलाई हरायो

शुक्रबार, असोज ९ २०८३

काठमाडौं । जापानमा जारी एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो।

अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए। नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन जोडे।

नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।

यो जितसँगै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको छ। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँगै रहेको छ। यसअघि बिहीबार भएको खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको थियो।

नेपालले अब शनिबार आयोजक जापानसँग समूह चरणको दोस्रो खेल खेल्नेछ। समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

क्वाटरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनल पुगेको थियो, जहाँ भारतसँग पराजित भएको थियो।