काठमाडौं असोज,२८– गैरआवासीय नेपाली संघले नेपालको पूर्वाधार र सेयरबजारमा लगानी गर्नका लागि एक सामुहिक लगानी कोषको स्थापना गर्ने भएको छ । १० अर्बको सामुहिक लगानी कोष स्थापना गर्ने र त्यसबाट नेपालको पूर्वाधार, कृषि र सेयरबजारमा लगानी गर्ने संघको योजना छ ।
गत चैतमा सम्पन्न लगानी सम्मेलनमा गैरआवासीय नेपाली संघ–एनआरएन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सामूहिक लगानी कोष खोल्ने समझदारी भएको थियो । सामूहिक लगानी कोषमाम्युचुअल फन्डमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को ५ प्रतिशत, नेपाल सरकारको ५ प्रतिशत र नेपालको निजी क्षेत्रबाट ५ प्रतिशत गरी १५ प्रतिशत बिउ पुँजी जुटाउने एनआरएनको योजना छ ।
सोमबार एनआरएनका उपाध्यक्ष कुमार पन्तले आफ्नो उमेदवारी घोषणा गर्दै आफु निर्वाचित भएसँगै यसलाई अघि बढाउने बताएका छन् । उनले भने ‘ नेपालको पूर्वाधार, कृषि र सेयबजारमा समेत लगानी गर्ने उद्देश्यका साथ सामुहिक लगानी कोषको स्थापना गर्नेछौं । ’
१५ प्रतिशत बिउँ पुँजी बाहेक ८५ प्रतिशत सेयर विश्वभर छरिएका गैरआवासिय नेपालीहरुलाई बिक्री गर्ने पन्त बताउँछन् ।
यसअघि कम्पनीलाई प्राथमिक सेयर निष्काशन गर्न सञ्चालनमा आएको तीन वर्ष पुग्नुपथ्र्याे । तर सरकारले यही लगानी भित्राउनका लागि कानुन नै संसोधन गरेर कम्पनी सञ्चालमा आएको एक वर्षमै प्राथमिक सेयर निष्काशन गर्न पाउने बाटो खोलेको छ ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीका अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियामवली २०६४ लाई संसोधन गरि २०७३ मा पूर्वाधार क्षेत्रमा लगानी गर्ने कम्पनीलाई एक वर्षमै प्राथमिक सेयर निष्काशन गर्ने बाटो खोलिएको छ। जसले गर्दा अब गठन हुने कम्पनीलाई सेयर निष्काशन गर्नका लागि तीन वर्ष कुर्नुपर्ने छैन ।
१० अर्बको सामूहिक लगानी कोष भित्रिएमा यसले पूर्वाधारको क्षेत्रमा मात्रै होइन सुस्ताउँदै गएको सेयर बजारलाई पनि उकालोतर्फ धकेल्न सक्छ । तर नयाँ कार्यसमितिले चयन भएसँगै यसलाई प्राथमिकतामा राख्छ कि नाई भनेर चाहि हेर्न बाँकी नै छ ।