काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
केन्द्रीय कमिटीको बैठक जारी रहेकै अवस्थामा बोलाइएको सचिवालय बैठकमा पार्टीको आगामी सांगठनिक संरचना र राजनीतिक विषयमा छलफल भइरहेको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले दिएका सुझाव तथा धारणालाई समेट्ने विषयमा छलफल हुने बताइएको छ।
ओलीको राजनीतिक प्रतिवेदन यसअघि केन्द्रीय कमिटी बैठकबाट सर्वसम्मत रूपमा पारित भइसकेको छ।
चिवालय बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गरिने सदस्यहरूका विषयमा समेत छलफल हुने एमाले नेताहरूले बताएका छन्। साथै, पार्टीको स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयलाई पनि बैठकको महत्वपूर्ण कार्यसूचीका रूपमा राखिएको छ।
सचिवालयमा आवश्यक छलफल तथा तयारी गरेपछि स्थायी कमिटी र पोलिटब्युरो गठनसम्बन्धी निर्णय केन्द्रीय कमिटी बैठकबाट घोषणा गर्ने तयारी रहेको बताइएको छ। पार्टीका विभिन्न संरचनालाई पूर्णता दिने विषयमा पनि सचिवालय बैठकले आवश्यक निर्णय तथा प्रस्ताव तयार गर्ने जनाइएको छ।