काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आइतबार ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भएको हो।
समितिका सदस्य–सचिव राजु कटुवालले असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनअन्तर्गत वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि निर्वाचन उत्साहपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने हालसम्म वडा अधिवेशन भएको छैन।
निर्वाचन कार्यक्रमअन्तर्गत कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ बाहेक) र सुनसरीलगायत जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको छ।
त्यस्तै, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका वडामा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
सप्तरीका क्षेत्र नं. २ र ४, सर्लाही क्षेत्र नं. २, रौतहट क्षेत्र नं. १ तथा नवलपरासी (पश्चिम) क्षेत्र नं. २ बाहेक सम्बन्धित जिल्लाका अन्य क्षेत्रमा अधिवेशन प्रक्रिया अघि बढेको सदस्य–सचिव कटुवालले बताए।
निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २, नवलपरासी (पश्चिम) क्षेत्र नं. २ तथा असोज ४ गते सम्पन्न हुन नसकेका सम्पूर्ण वडा अधिवेशन असोज ५ गते सोमबार निरन्तर सञ्चालन हुनेछन्।