बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ऋषिपञ्चमी पर्व मनाइँदै : सप्तऋषिको पूजा, पञ्चमी स्नान र व्रतको यस्तो छ धार्मिक मान्यता

मंगलबार, भाद्र ३० २०८३

काठमाडौँ  । भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी पर्व आज नेपाली महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी मनाउँदैछन्।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म पूरा गरी तीज व्रतको पारायण गर्ने परम्परा छ। त्यसपछि नजिकका नदी, खोला, ताल, तलैया वा पोखरीमा पुगेर ३६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने चलन छ।

यस वर्ष चौथी तिथि टुटेका कारण तीज व्रतको भोलिपल्टै ऋषिपञ्चमी परेको छ। त्यसैले तीज व्रतको पारायण सकेपछि पञ्चमी स्नानलगायतका कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत र पूजा महिला तथा पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भए पनि ऋषिपञ्चमी भने महिलाले मात्र गर्नुपर्ने उल्लेख छ।

धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा छुइछाइ वा अन्य कुनै त्रुटि भएको भए ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गर्दा त्यसबाट मुक्ति पाइने विश्वास छ।

परम्परागत मान्यतामा रजस्वलाको पहिलो दिन महिलालाई चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी र तेस्रो दिन धोबिनीका रूपमा उल्लेख गरिएको छ भने चौथो दिन स्नान गरेपछि शुद्ध हुने विश्वास गरिन्छ। यही मान्यताका आधारमा दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान तथा पञ्चगव्य सेवन गरेमा छुवाछुतको दोष निवारण हुने शास्त्रीय विश्वास रहेको डा. भट्टराई बताउँछन्।

सप्तऋषिको पूजा गर्ने दिन

स्नानपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र गरी सप्तऋषिको पूजा गर्ने परम्परा छ। सप्तऋषिको पूजा गरिने पञ्चमी भएकाले यस पर्वलाई ऋषिपञ्चमी भनिएको हो।

इन्द्रको ब्रह्महत्यासँग जोडिएको किंवदन्ती

ऋषिपञ्चमीको पृष्ठभूमि महिलाको रजस्वलासँग जोडिएको धार्मिक किंवदन्तीसँग सम्बन्धित छ।

प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेपछि ब्रह्महत्याको पाप भोग्नुपरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। उक्त पापबाट पीडित इन्द्रले ब्रह्मासँग दुःख व्यक्त गरेपछि ब्रह्माले एक वर्षको दोष इन्द्रलाई भोग गराएर बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भागमा बाँडेर दिएको धार्मिक विश्वास छ।

यसै कारण पृथ्वीमा उब्जनी नहुने उषर भूमि, वृक्षबाट खोटो, पानीमा बुदबुद वा फिँज र स्त्रीमा रजस्वला हुने अवस्था सुरु भएको धार्मिक विश्वास रहेको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदी बताउँछन्।

परम्परागत धार्मिक व्याख्यामा रजस्वलाका समयमा छुइछाइ भएमा त्यसबाट दोष लाग्ने विश्वासका कारण ऋषिपञ्चमीमा सप्तऋषिको पूजा गर्ने चलन विकास भएको मानिन्छ।

यद्यपि, रजस्वलासम्बन्धी परम्परागत मान्यतालाई आधुनिक स्वास्थ्य तथा विज्ञानको दृष्टिकोणबाट पनि अध्ययन गरी तथ्यपरक रूपमा बुझाउनुपर्नेमा सुवेदीले जोड दिएका छन्।