बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल दोस्रो पटक एसिया कपमा, अब भारत–पाकिस्तानसँग भिड्ने

कप्तान सन्दीप ‘प्लेयर अफ द टुर्नामेन्ट’

आइतबार, भाद्र २८ २०८३

काठमाडौं । नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ४४ रनले पराजित गर्दै दोस्रो पटक एसिया कपमा स्थान पक्का गरेको छ। एसिसी मेन्स प्रिमियर कपको उपाधि जितेसँगै नेपालले सन् २०२७ मा बंगलादेशमा हुने एसिया कप खेल्ने अवसर पाएको हो।

शनिबार मलेसियाको वायुमास ओभलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो। यूएईका राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। तनिश सुरीले ४२ तथा कप्तान हरप्रित भाटियाले ३३ रन बनाए।

नेपालका लागि करण केसीले ३ विकेट लिए। ललित राजवंशीले २ तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

अब एसिया कपमा भारत, पाकिस्तान र श्रीलंकासँग भिड्ने

प्रिमियर कपको उपाधिसँगै नेपालले एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान पूर्ण सदस्य राष्ट्रका रूपमा यसअघि नै एसिया कपमा छनोट भइसकेका छन्। प्रिमियर कपको विजेताले मात्र यी पाँच टोली सम्मिलित एसिया कपमा स्थान बनाउने प्रावधानअनुसार नेपालले टिकट काटेको हो।

२०२३ पछि फेरि एसिया कपको यात्रा

नेपालले यसअघि सन् २०२३ मा पहिलो पटक एसिया कप खेलेको थियो। घरेलु मैदानमा भएको प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले पहिलोपटक एसिया कपमा स्थान बनाएको थियो।

त्यस संस्करणमा नेपाल भारत र पाकिस्तानसँगै समूह ‘ए’मा परेको थियो। दुवै खेलमा नेपाल पराजित भए पनि एसिया कप खेल्ने ऐतिहासिक अवसर पाएको थियो।

अब चार वर्षपछि नेपालले फेरि एसिया कपमा स्थान बनाएको छ।

समूह चरणमा ३ जित, १ हार

प्रिमियर कपको समूह चरणमा नेपालले चारमध्ये तीन खेल जित्दै समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो।

नेपालले बहराइनलाई ७ विकेट, मलेसियालाई ६ विकेट र साउदी अरेबियालाई ५ विकेटले हराएको थियो। हङकङसँग भने नेपाल १५ रनले पराजित भएको थियो।

अर्कोतर्फ, यूएई अपराजित यात्रासहित फाइनलमा पुगेको थियो।

आसिफको शतकमा नेपालले बनायो ३१३ रन

फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए।

यो आसिफको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक हो। उनले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए।

अर्जुन ४३ रनमा आउट भए। इशान पाण्डेले १३ तथा पूर्वकप्तान रोहित पौडेलले ४० रन बनाए।

गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १८, सन्दीप जोरा ७ र करण केसीले १ रन बनाए।

बसिर अहमदले अन्त्यतिर चार बलमा एक छक्का र दुई चौकासहित अविजित १५ रन जोडे। कप्तान सन्दीप लामिछाने पहिलो बलमै आउट हुँदा ललित राजवंशी १ रनमा अविजित रहे।

यूएईका इबरार अहमदले चार विकेट लिए।

कप्तान सन्दीप ‘प्लेयर अफ द टुर्नामेन्ट’

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। उनले प्रतियोगिताभर १७ विकेट लिए।

फाइनलमा शतक बनाएका आसिफ शेख भने प्लेयर अफ द म्याच चुनिए।